बझाङ – बुङ्गल नगरपालिकाभरिका राहत शिक्षकहरू हिजाे एकत्रित भई शिक्षा समितिको खराब व्यवहार तथा समितिका सभापति अमर थापाद्वारा प्रयोग गरिएको अशिष्ट भाषाप्रति आपत्ति जनाउँदै विरोध सभाको आयोजना गरेका छन्।
विगतमा भएका सम्झौताअनुसार सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनमा शिक्षा समिति उदासीन देखिएको भन्दै, व्यापक आन्दोलनको तयारी स्वरूप यो विरोध कार्यक्रम गरिएको हो।

राहत शिक्षक समिति अध्यक्ष हेमन्त बहादुर सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा महासंघका नगर अध्यक्ष नमेश बहादुर सिंह तथा बुङ्गल नगरपालिका शिक्षा शाखाका पदाधिकारीहरू सहभागी थिए।
कार्यक्रमका वक्ताहरूले शिक्षा ऐन केवल शिक्षकको हकहितका लागि मात्र नभई विद्यार्थी र अभिभावकको हितमा पनि आउनुपर्नेमा जोड दिए। आर्थिक अभावका कारण उत्कृष्ट विद्यार्थीहरू उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न जापान, चीन, अमेरिका जस्ता मुलुकमा जस्तै सरकारी सहयोग वा ऋणको व्यवस्था गर्नुपर्ने माग राखेका छन ।
वक्ताहरूका अनुसार शिक्षा प्रणाली कमजोर हुनु कुनै पनि राष्ट्रको भविष्यका लागि विनाशकारी हुन्छ। नेतृत्व नै कमजोर भए देशको भविष्य अनिश्चित हुने उल्लेख गर्दै, यो समस्या केवल नेपालको मात्र नभई विश्वव्यापी रहेको धारणा राखेेका छन ।

आगामी कार्यदिशा निर्धारणका लागि भदौ ३० गते चैनपुरमा विशेष कार्यक्रम हुने जानकारी दिइयो। साथै, आगामी आन्दोलन शान्तिपूर्ण भए पनि सरकारले कडा हस्तक्षेप गर्ने सम्भावना भएकाले परिस्थितिहरू कठिन हुन सक्ने चेतावनीसमेत दिएका छन ।
























