सुनकुडा क्याम्पसमा ३ दिने उद्घोषण नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

Image

बझाङ – सुनकुडा क्याम्पसमा ३ दिने ‘उद्घोषण, नेतृत्व तथा क्षमता विकास तालिम’ भव्यताका साथ सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी युनियन, सुनकुडा क्याम्पसको आयोजनामा तथा क्याम्पसको सहकार्यमा साउन २२ गतेदेखि सुरु भएको तालिम आज २४ गते सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष कपिल बिष्टले गर्नुभयो। प्रमुख अतिथि रूपमा बित्थडचिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी मल्ल, विशिष्ट अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमेश बहादुर अधिकारी तथा प्रशिक्षक पाण्डव पुजारा सहभागी हुनु भएको थियो। कार्यक्रम सञ्चालन कोषाध्यक्ष सुशिला बि.क.ले गर्नुभएकाे थियाे ।

प्रमुख अतिथि मल्लले युवाहरू राष्ट्रको मेरुदण्ड भएको उल्लेख गर्दै यस्ता तालिमहरूले क्षमता, आत्मविश्वास र नेतृत्व कौशललाई मजबुत बनाउने बताउनुभयो। विशिष्ट अतिथि अधिकारीले सहभागीहरूको सक्रियता प्रशंसनीय रहेको भन्दै सिकेका कुरालाई व्यवहारमा उतार्न आवश्यक रहेको धारणा राख्नुभयो।

प्रशिक्षक पुजाराले सहभागीहरूको अनुशासन र सिक्ने चाहनाले तालिमलाई विशेष बनाएको भन्दै नेतृत्व र उद्घोषण सीप जीवनका हरेक मोडमा उपयोगी हुने कुरा गर्नुभयो। सहभागी विद्यार्थीहरूले तालिमबाट आत्मविश्वास, बोल्ने शैली र नेतृत्वसम्बन्धी नयाँ ज्ञान पाएको जनाएका छन्।

अध्यक्ष बिष्टले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रम आयोजना गर्ने योजना रहेको उल्लेख गर्दै क्याम्पस प्रशासन, सञ्चालक समिति, प्रशिक्षक, अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। आयोजकका अनुसार, यस तालिमले विद्यार्थीहरूमा नेतृत्व क्षमता र उद्घोषण कौशलमा उल्लेखनीय सुधार ल्याएको छ।

प्रतिक्रिया जनाउनुहाेस्