बझाङ – बुंगल नगरपालिका वडा नम्बर ३ मिनि खप्तड भनेर चिनिने खोल्लेक खेलमैदान निर्माण कार्यमा अनियमितता देखिएको छ। आर्थिक वर्ष २०८१/०८२ मा उक्त खेलमैदान निर्माणका लागि सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, सम्बन्धित उपभोक्ता समितिले तोकिएको निकासी चरण पूरा नहुँदै बढी रकम निकासी गरेको पाइएको छ।
जिल्ला प्राविधिक कार्यालयबाट गरिएको प्राविधिक विश्लेषण अनुसार, खेलमैदान निर्माण कार्य २०७४ साल देखि निर्माण गरि करोडौं बजेट खर्च गर्दा पनि अहिलेसम्म उक्त खेलमैदानको कार्य पूर्णरूपमा सम्पन्न भएको छैन सार्वजनिक खरिद नियमावली २०७४ को नियम १० बमोजिम लागत अनुमान तयार गर्ने प्रक्रियामा खेलमैदानसहित अन्य योजनाहरूको विस्तृत लागत विवरण तयार गरिएको थियो। सो विवरणमा खोल्लेक खेलमैदान योजनाको लागत २लाख २५हजार ७९ रुपैयाँले बढी देखिएको छ।
विश्लेषण अनुसार, उपभोक्ता समितिले योजना सम्पन्न नहँदै समयपूर्वै सबै निकासी गरी बढी रकम लिएको देखिएको छ, जसले गर्दा सो रकम असुलउपर गर्नुपर्ने अवस्था आएको हो।
योजनाको काम अपेक्षित गुणस्तर र मापदण्ड अनुसार नहुँदा स्थानीयवासीहरू समेत असन्तुष्ट भएका छन्। खेलमैदान न पूर्णरूपमा निर्माण भएको छ, न त आवश्यक भौतिक संरचना तयार गरिएको छ। यस्तो अवस्थामा उपभोक्ता समितिबाट सार्वजनिक रकम फिर्ता गराउनुपर्ने सिफारिस सम्बन्धित निकायलाई गरिएको जिल्ला प्राविधिक विश्लेषणमा उल्लेख छ।
अहिले, योजना कार्यान्वयन समितिको जवाफदेहिता, अनुगमन प्रणालीको कमजोरी, र सार्वजनिक सम्पत्तिको दुरुपयोग सम्बन्धमा सरोकारवालाहरूबीच गम्भीर प्रश्न उठिरहेको छ।
स्थानीय तह र सम्बन्धित निकायहरूले छानबिन गरी सार्वजनिक सम्पत्तिको दुरुपयोगमा संलग्नहरूमाथि कानुनी कारबाही गर्नुपर्ने माग पनि चुलिँदै गएको छ।
























