बझाङ – बझाङ जिल्ला खेलकुद समितिका सदस्य हिक्मत बहादुर धामीले आफ्नो २७औं जन्मदिन सामाजिक उत्तरदायित्वसहित विशेष तरिकाले मनाएका छन्।
पूर्व विद्यार्थीसमेत रहेका धामीले जन्मोत्सवको अवसरमा बुंगल नगरपालिका–२ स्थित चन्द्र मावि गिराैका ३२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन्। आमा नभएका ६ जना, बुवा नभएका ८ जना, बुवा–आमा दुवै नभएका ३ जना, आर्थिक रूपले कमजोर ९ जना, अपांगता भएका २ जना, अनुशासित २ जना तथा २०८१ शैक्षिक सत्रमा प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गरेका ३ जना विद्यार्थीहरुलाई कापी, कलम र स्कुल झोला वितरण गरिएको हो।

विद्यालयका प्रधानाध्यापक शिवराज अवस्थीका अनुसार धामी उक्त विद्यालयका पूर्व विद्यार्थीसमेत हुन्। उहाँ २०६७ सालमा विद्यालयको तर्फबाट बिरेन्द्र शिल्ड जित्न समेत सफल भएका थिए।विगतमा विद्यालयको खेलकुद प्रतिष्ठामा महत्वपूर्ण योगदान दिएका धामी आजपनि शिक्षाको क्षेत्रमा प्रेरणादायी काम गरिरहेका छन ।
अहिले जन्मदिन महंगो खर्चिलो र भड्किलो रूपमा मनाउने प्रवृत्ति बढ्दै गएकाे समयमा विपन्न बालबालिकालाई सहयोग गर्दै मनाइएको यो जन्मोत्सव समाजमा सकारात्मक सन्देश दिने खालको पनि हाे साथै धामीले जन्मदिनकै अवसर पारेर विद्यालयमा ‘अक्षय कोष’ समेत स्थापना गरेका छन्। विद्यालयको इतिहासमै पहिलोपटक स्थापना गरिएको यो अक्षय कोषले भविष्यमा विपन्न तथा प्रतिभाशाली विद्यार्थीहरूलाई निरन्तर शैक्षिक सहयोग गर्ने अपेक्षा गरिएको छ।

























