बझाङ –अन्तर्राष्ट्रिय रेडक्रस महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालन भइरहेको “परिवर्तक The Changemaker ” परियोजना अन्तर्गत Green Growth From Trash To Tree अभियान अन्तर्गत आज बित्थड चिर गाउँपालिका वडा नं ८ को कालिका आधारभूत विद्यालय क्षेत्र र धरान बजारमा सरसफाइ तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रममा स्थानीय युवा, शिक्षक, व्यवसायी तथा समुदायका अन्य सदस्यहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए। कार्यक्रमको मुख्य उद्देश्य वातावरणको संरक्षण, फोहोरमैला व्यवस्थापन, प्लास्टिकको प्रयोग घटाउने तथा जनतामा चेतना अभिवृद्धि गर्नु रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष श्री सुशील अधिकारीको उपस्थिति रहेको थियो। साथै, विद्यालयका प्राध्यापक श्री लोकराज अवस्थी तथा अन्य शिक्षक तथा कर्मचारीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम अन्तर्गत धरान बजार क्षेत्र र विद्यालय परिसरको सरसफाइ गरिएको थियो। साथै, सहभागीहरूलाई फोहोरको उचित वर्गीकरण, प्लास्टिकजन्य पदार्थहरूको असर र वातावरणमैत्री अभ्यासहरू सम्बन्धी जानकारी दिइएको थियो।
उक्त कार्यक्रमको नेतृत्व कपिल बिष्टले गर्नुभएको थियो। उहाँले कार्यक्रमको क्रममा भन्नुभयो: “सरसफाइ र वातावरण संरक्षण हाम्रो सबैको साझा जिम्मेवारी हो। समुदायमैत्री समाधान र जनसहभागितामार्फत मात्र दिगो विकास सम्भव छ। हामीले सञ्चालन गरेको यो अभियानले जनचेतना अभिवृद्धिमा सहयोग पु¥याउनुका साथै व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरेका छौं।”

कार्यक्रमको समापनमा वडा अध्यक्ष समक्ष फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण गर्ने, जनचेतनामूलक सूचना बोर्डहरू राख्ने तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा वातावरण संरक्षणसम्बन्धी विषयहरूलाई विशेष प्राथमिकता दिन अनुरोध पनि गरिएको थियो।
























