बझाङ, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), सुनकुडा क्याम्पस, बझाङको आयोजनामा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। क्याम्पस परिसर तथा वरपरको क्षेत्र सफा गरी वातावरण स्वच्छ, स्वस्थ र सुन्दर बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, प्राध्यापक, शिक्षक, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका अवसरमा क्याम्पस प्रमुख ललित बहादुर बिष्टले यस्ता अभियानहरूले शिक्षण वातावरणलाई थप सकारात्मक बनाउनका साथै विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।
क्याम्पस सञ्चालक समिति अध्यक्ष रमेश बहादुर अधिकारीले विद्यार्थीहरूलाई सामाजिक कार्यमा संलग्न गराउनु सकारात्मक पक्ष भएको बताउँदै, यसले उनीहरूलाई सहकार्य र नेतृत्व क्षमताको विकास गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो।
स्ववियु सदस्य रोशनी थापाले सम्पूर्ण सहभागीहरू प्रति आभार प्रकट गर्दै, आगामी दिनमा स्ववियुको नेतृत्वमा अझ सिर्जनात्मक तथा समाजसेवी कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्ववियु अध्यक्ष बिष्टले यस अभियानलाई निरन्तरता दिँदै भविष्यमा अझ व्यापक रूपमा सञ्चालन गर्ने योजना रहेको जानकारी गराउँदै, सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै सचेतना कार्यक्रमहरूलाई विस्तार गरिने बताउनुभयो।