बझाङ ; बझाङको सुर्मा गाउँपालिका वडा नम्बर –१ नाउलीका ३२ वर्षीय प्रेमबहादुर बोहरालाई नाबालिका हत्या आरोपमा पक्राउ गरिएको छ। उनलाई उनकी श्रीमती मन्कली साउँदले दिएको उजुरीका आधारमा नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीका अनुसार सोमबार अदालतबाट अनुमति लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। प्रहरीले दिएको जानकारीअनुसार, २०८१ मंसिर २ गते साँझ मदिरा सेवनपछि श्रीमती मन्कली साउँदसँग विवाद हुँदा बोहराले कुटपिट गरी १ वर्षीय सौतेली छोरी गिता साउँदको हत्या गरेको आरोप लागेको छ। मृतक बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने रिपोर्ट आउन बाँकी छ।
गत भदौ २२ गते अछामको मंगलसेन नगरपालिका वडा नम्बर ३ बाट मन्कलीसँग भागी बिहे गरेका प्रेमले सौतेली छोरी भन्दै गिताको हत्या गरेको भनिएको छ। प्रेम मन्कलीले अर्काकी छोरीसँगै ल्याएको भन्दै तनावमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।