बझाङ । बुंगल नगरपालिकामा सामुदायिक विद्यालयहरूको मर्ज र तह घटाउने निर्णय भएको आठ महिना बितिसक्दा पनि शिक्षक दरबन्दी मिलान नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । नगरपालिकाको शैक्षिक सुधारको लक्ष्यअनुसार १३ विद्यालय मर्ज गरी ११ विद्यालयको तह घटाउने निर्णय गरिएको थियो। तर, निर्णय कार्यान्वयन नहुँदा कतिपय विद्यालयमा शिक्षकको अभावले विद्यार्थी पठनपाठनमा असर परेको छ , केही विद्यालयमा शिक्षकको संख्या आवश्यकता भन्दा बढी छ भने कतिपयमा अत्यन्तै कम रहेको र यसले विद्यार्थीको नियमित सिकाइ प्रक्रिया अवरुद्ध भएको सत्य माध्यामिक विद्यालयका प्रधानाध्यापक खडकबहादुर बोहराले बताउनुभयो ।
कतिपए विद्यालयमा दरबन्दी मिलान नगर्दा निजी शिक्षक पाल्न गाह्रो भएको छ । विद्यालयहरूले बारम्बार आवाज उठाए पनि नगरपालिकाले यो विषयमा चासो नदिएको चन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले बताउनुभयो ।
यस बिषयमा बुंगल नगरपालिकाका शिक्षा शाखा प्रमुख देवराज जोशीले भने प्राथमिक तहको दरबन्दी मिलान प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनु भएकोछ। उहाँले अब एक हप्ताभित्र प्राथमिक तहमा मिलान गरिने र माध्यमिक तहको प्रक्रिया पनि अघि बढाइने जानकारी दिनुभयो । शिक्षक दरबन्दी नमिल्दा प्रत्येक वर्ष नगरपालिकालाई ३ करोड रुपैयाँ भन्दा बढी आर्थिक भार थपिने गरेको छ। दरबन्दी मिलानले आर्थिक भार कम गर्न र विद्यालयको पठनपाठन सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।