संकटमा मुख्यमन्त्री सोडारी : एमाले कार्यव्यवस्था समितिमै गएन

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडारी आज विश्वासको मत लिँदै छन् । सोडारीले श्वासको मत लिन हतार गरेको भन्दै एमाले कार्यव्यवस्था परामर्श समितिको बैठकमै अनुपस्थित भएपछि उनी संकटमा पर्ने संकेत देखिएको छ ।

मुख्यमन्त्री सोडारीले शुक्रबार साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए । त्यसका लागि शुक्रबार बिहान ८ बजे सभामुख भीमबहादुर भण्डारीले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए तर सत्ता साझेदार दल एमाले अनुपस्थित रहेपछि अहिलेसम्म बैठक बस्न सकेको छैन ।

सोही कारण प्रदेश सभाको बैठक समेत अनिश्चित भएको छ । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीले विश्वासको मत लिन हतार गर्न नहुने पार्टीको धारणा रहेको बताए ।

बझाङ उपनिर्वाचनबाट विजयी भएका दमनबहादुर भण्डारी शोकमा रहेको अवस्थामा विश्वासको मत लिन हतार गर्न उपयुक्त नभएको बताए ।
स्रोतकाअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले नै समय बाँकी रहेका कारण मुख्यमन्त्रीले हतार गरेको भन्दै तत्काल निर्णय लिन कुनै निर्देशन दिएका छैनन् ।

पार्टीको केन्द्रीय नेतृत्वबाट कुनै निर्देशन नआएका कारण शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णयमा सहभागी हुन नसकिने एमाले सांसद बताउँछन् । यसअघि एमालेसहितका गठबन्धन दलबीचको समझदारीअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेका थिए ।

janahit ma jari sandesh
Masta R.M
Loading...