खराब ब्याटिङसँगै नेपाल ‘ए’ आयरल्यान्डसँग पराजित !

काठमाडौं । खराब ब्याटिङ गरेपछि नेपाल ‘ए’ ले बुधवार आयरल्याण्ड ‘ए’ सँगको पहिलो एकदिवसीयमा २१ रनको हार व्यहोर्दै श्रृंखलामा खराब शुरुवात गरेको छ ।यसअघि ट्वान्टी–२० क्रिकेटको श्रृंखला २–१ ले गुमाएको नेपालले एकदिवसीयमा पनि सुखद् शुरुवात गर्न सकेन ।

उत्कृष्ट बलिङका बाबजुद ब्याटिङमा साथ पाउन नसक्दा नेपालले पहिलो एकदिवसीयमा पनि हार व्यहोर्यो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा मैदानमा आयरल्याण्ड ‘ए’ ले दिएको १५८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमै समेटियो । नेपालका कुनैपनि ब्याटरले अनुशासित इनिङ खेल्न सकेनन् । साहब आलमको ३७ रन सर्वाधिक व्यक्तिगत स्कोर रह्यो ।

तर ओपनर देव खनालले २६ रन र बसिर अहमदले २० रनको योगदान दिए । पहिलो विकेटका लागि नेपालको ३५ रनको साझेदारी भयो । थप १० रन जोड्ने क्रममा पाँच विकेट पतनसँगै नेपालको इनिङ धरासायी बन्यो । यस क्रममा ओपनर अर्जुन कुमाल ९ रन, अर्जुन साउद ४ रनमा आउट हुँदा भीम सार्की र आरिफ सेखले खाता नै खोल्न सकेनन् । कप्तान विनोद भण्डारी पनि ९ रनमा नै पभेलियन फर्किए । कमलसिंह ऐरी ६ रनमा एलबिडब्लु आउट भएपछि नेपालको सातौं विकेट पतन भयो ।

आठौं विकेटका लागि साहब र बसिरबीच २३ रनको साझेदारी हुँदा नेपालले जितको आशा राखेको थियो । तर दुवै ब्याटर धैर्य गुमाउँदै ठूलो सर्ट खेल्न प्रयासमा आउट भए र नेपालले हार व्यहो-यो । रिजन ढकालले अविजित १२ रनको योगदान दिएपनि पर्याप्त भएन । पाहुना टोलीको बलिङमा लियाम म्याकर्थी र म्याथ्युज हम्प्रिजले संयुक्त ९ विकेट लिँदै नेपालको इनिङ धरासायी बनाउँदै जित दिलाए । १० ओभर बलिङ गरेका हम्प्रिजले तीन मेडन राख्दै ३२ रन मात्र खर्चिंदा पाँच विकेट लिए । म्याकर्थीले पाँच ओभरमा २९ रन व्यहोर्दै चार विकेट निकाले ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ३८.३ ओभरमा १५७ रनमै अलआउट भयो । पाहुना टोलीको पनि सुखद् शुरुवात हुन सकेन । ओपनरद्वय जेम्स म्याकलम र स्टेफन डोहनी समान १२ रन आउट भए । तर पिटर मोरले २१ रन जोड्दै इनिङ उकास्ने प्रयास गरे । क्याड कार्मिकाइल र कप्तान निल रकले चौथो विकेटका लागि ६५ रनको साझेदारी गर्दै पाहुना टोलीलाई राम्रो स्थितिमा पु¥याए । २९औं ओभरमा कमलसिंह ऐरीले कप्तान निललाई ३९ रनमा एलबिडब्लु आउट गर्दै ठूलो सफलता दिलाए । यद्यपि अर्को छेउबाट कार्मिकाइलले इनिङ अगाडि बढाए ।

अर्को छेउबाट लगातार विकेट पतन भयो । ग्यारेथ डेलेनी ६ रन र फिओन हान्ड शुन्यमा नै आउट भए । ३७औं ओभरमा कार्मिकाइल ५१ रनमा पभेलियन फर्किए र पाहुना टोलीको सातौं विकेट पतन भयो । तर लगत्तै अर्को ओभरमा कमलसिंहले ह्याट्रिक लिँदै पाहुना टोलीलाई इनिङ सस्तैमा सिमित गराए । नेपालको बलिङमा कमलसिंहले ६.१ ओभरमा एक मेडनसहित चार विकेट लिए । आलम र मौसम ढकालले समान दुई विकेट लिँदा रिजन ढकालले एक विकेट निकाले । नेपालले शुक्रवार दोस्रो खेल खेल्नेछ ।

janahit ma jari sandesh
Masta R.M
Loading...