बझाङ । बझाङमा सञ्चालित १४ औं राष्ट्रपतिरनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि बुंगल नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद समितिको आयोजनामा केदारस्यूँ गाउँपालिकाको झोतामा आज आइतबार सम्पन्न भएको प्रतियोगितामा १३ स्वर्ण २ रजत सहित बुंगल नगरपालिकाकाले शिल्ड जितेको खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा केदारस्युँ गाउँपालिका दोस्रो भएको छ । केदारस्युँले ६ स्वर्ण ६ रजत ५ काँस्य गरि जम्मा १७ पदक प्राप्त गरि दोस्रो भएको हो । तृतीय जयपृथ्वी नगरपालिका भएको छ । जयपृथ्वी नगरपालिकाले ४ स्वर्ण , ६ रजत र ४ काँस्य सहित १४ पदक हात पारेको छ । खप्तड छान्ना गाउपालिकाले २ स्वर्ण , ४ रजत र २ कास्यँ सहित ८ पदक, थलारा गाउँपालिकाले १ स्वर्ण, ३ रजत गरी ४ पदक, छविसपाथिभेरा गाउँपालिकाले १ स्वर्ण २ रजत र ८ काँस्य गरी ११ पदक हात पारेको छ ।
त्यसैगरी वित्थडचिर गाउँपालिकाले १ स्वर्ण २ रजत र ३ काँस्यसहित ६ पदक, दुर्गाथली गाउँपालिकाले १ स्वर्ण १ रजत र ५ काँस्यसहित ७ पदक, सुर्मा गाउँपालिकाले १ स्वर्ण २ काँस्य सहित ३ पदक, तल्कोट गाउँपालिकाले २ रजत, मष्टा गाउँपालिकाले १ रजत र १ कास्यसहित २ पदक र साइपाल गाउँपालिकाले १ रजत प्राप्त गरेको जिल्ला खेलकुद समिती बझाङका अध्यक्ष पुष्पलाल रोकायाले जानकारी दिनुभयो । यही माघ २४ गतेदेखी केदारस्यु गाउँपालिकाको झोतास्थित भैरव माविमा संञ्चालन भएको १४ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज समापन भएको हो ।
प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागि गराइने जिल्ला खेलकुद समितिले जनाएको छ । प्रथम भएको बुंगल नगरपालिकाले खेलाडीहरुलाई सोमबार बजागाजा सहित सम्मान गर्ने भएको छ ।