बझाङ , बझाङको बुङ्गल नगरपालिका–२, गिरौँमा ज्यावन विकास युवा क्लबले आयोजना गरेको अनन्त चतुर्दशी मेला सम्पन्न भएको छ। ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, समाज परिवर्तनमा युवा अभियान’ भन्ने मूल नाराका साथ आयोजित मेला असोज ९ गतेदेखि सुरु भएको थियो। लगातारको वर्षाका कारण केही कार्यक्रम स्थगित भएपछि बाँकी कार्यक्रम असोज १७ गतेदेखि पुनः सञ्चालन गरिएका थिए। स्थगित भएका कार्यक्रम सम्पन्न गर्दै मेला असोज १८ गते औपचारिक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। मेलाअन्तर्गत उद्घाटन तथा प्राथमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता यसअघि नै सम्पन्न भएको थियो।
सात वटा विद्यालयको सहभागिता रहेको हाजिरीजवाफ प्रतियोगितामा बाल विहानी साइपाल एकेडेमी प्रथम, चन्द्र माध्यमिक विद्यालय द्वितीय र भुमेश्वरी आधारभूत विद्यालय तृतीय भएका थिए। वर्षाका कारण स्थगित भएका अन्य कार्यक्रम असोज १७ र १८ गते बुङ्गल नगरपालिका–२, गिरौँस्थित चन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको थियो। मेलाअन्तर्गत आयोजित भलिबल प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा चन्द्र माध्यमिक विद्यालय, गिरौँ प्रथम, आयोजक ‘ए’ टिम द्वितीय तथा सुर्मा देवी आधारभूत विद्यालय, कचाली तृतीय भएका छन्। मेरीगोल्ड समाज, काँडाले सान्त्वना स्थान प्राप्त गरेको आयोजकले जनाएको छ।
त्यस्तै, खुला घैँटोफोड प्रतियोगितामा क्लबका अध्यक्ष रामबहादुर धामी प्रथम भएका थिए। मेलामा छलिया नाच, गीत, गजल, चुट्किला लगायत विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत प्रस्तुत गरिएका थिए। स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा युवाको सहभागिता र सामाजिक एकताको सन्देश दिने उद्देश्यले आयोजना गरिएको मेला विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको क्लबका अध्यक्ष रामबहादुर धामीले जानकारी दिनुभयो। मेलालाई सभ्य र भव्य रूपमा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी, स्थानीयवासी, सहभागी विद्यालय, खेलाडी तथा सम्बन्धित सबैमा क्लबका अध्यक्ष धामीले हार्दिक धन्यवादसमेत व्यक्त गर्नुभएको छ।
प्रतिक्रिया जनाउनुहाेस्
























