बझाङ। बुङ्गल नगरपालिका–९ देउलीकोटमा सञ्चालन भइरहेको समान व्यवहार परियोजनाको प्रभावले स्थानीयको सामाजिक सोच र व्यवहारमा क्रमिक परिवर्तन आउन थालेको छ । लामो समयदेखि समाजमा जरा गाडेर बसेका सामाजिक कुरीति, लैङ्गिक विभेद, बालविवाह, मदिरा सेवन तथा महिनावारीसम्बन्धी गलत मान्यतामा कमी आउन थालेको स्थानीयले बताएका छन् ।
युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोग तथा दलित सहयोग समाजद्वारा सञ्चालित परियोजनाले सामाजिक चेतनासँगै स्थानीयको आयआर्जनमा समेत जोड दिएको छ । महिला समूह गठन, नियमित छलफल, तालिम, सामाजिक अभियान, सकारात्मक व्यवहार गर्ने व्यक्तिको सम्मान तथा आयआर्जनका लागि सहयोगलगायतका गतिविधि सञ्चालन हुँदै आएका छन् ।
परियोजनाको प्रभावले महिनावारीका बेला महिलालाई घरभन्दा बाहिर राख्ने तथा छुट्टै गोठमा सुताउने चलनमा कमी आएको स्थानीय सपना कुँवरले बताउनुभयो । उहाँका अनुसार पहिले महिनावारीका बेला महिलाले छ दिनसम्म विभिन्न प्रतिबन्ध सामना गर्नुपर्ने अवस्था रहे पनि अहिले त्यो अवधि घटेर चार दिनमा सीमित भएको छ। आफ्नै कोठामा सुत्न पाउने अवस्था पनि बनेको उहाँले बताउनुभयो । त्यस्तै, घरायसी काम महिलाको मात्र जिम्मेवारी हो भन्ने सोचमा पनि परिवर्तन आउन थालेको छ। अहिले महिला र पुरुषले मिलेर घरको काम गर्ने अभ्यास बढ्दै गएको स्थानीयको भनाइ छ । बालविवाह न्यूनीकरणमा पनि परियोजनाले सहयोग पु¥याएको स्थानीय बताउँछन् । देउलीकोट क्षेत्रमा विगतमा मागेर तथा भागेर बालविवाह हुने गरेको भए पनि जनचेतनामूलक छलफल र अभियानपछि मागेर गरिने बालविवाहमा कमी आएको स्थानीय मैना बोहराले बताउनुभयो । यद्यपि, भागेर हुने बालविवाह पूर्ण रूपमा अन्त्य हुन नसकेको उहाँको भनाइ छ ।
परियोजनाले महिलालाई आयआर्जनतर्फ समेत आकर्षित गरेको छ । सुर्मा सरोवर आमा समूहकी अध्यक्ष मिना पातलीले भैँसीपालनका लागि ६४ हजार रुपियाँ सहयोग पाएपछि आम्दानीको बाटो खुलेको बताउनुभयो। त्यस्तै, समूहकी सदस्य माना पातलीले ३८ हजार रुपियाँ सहयोगबाट बाख्रापालन सुरु गर्नुभएको छ । उहाँहरूजस्तै अन्य महिलाले पनि विभिन्न आयआर्जनका काम सञ्चालन गरिरहेका छन्। मदिरा सेवन तथा त्यसका कारण हुने पारिवारिक झैझगडामा समेत कमी आएको स्थानीयको भनाइ छ। परियोजनाअन्तर्गत मदिरा सेवनबाट हुने सामाजिक तथा पारिवारिक असरबारे छलफल र जनचेतनामूलक गतिविधि सञ्चालन गरिएपछि समुदायमा सकारात्मक प्रभाव परेको बताइएको छ ।
समान व्यवहार परियोजनाले समाजमा रहेका कुरीति, कुप्रथा र विभेद अन्त्य गर्दै स्थानीयको सोच तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको परियोजना संयोजक भिम रसाइलीले बताउनुभयो । “उहाँले भन्नुभयो, महिला समूहको गठन, नियमित छलफल, सामाजिक सचेतना, क्षमता विकास तथा आयआर्जनका कार्यक्रममार्फत समुदायलाई परिवर्तनको प्रक्रियामा जोड्दै आएका छौँ । परियोजनाको प्रभावले महिनावारीसम्बन्धी गलत अभ्यास, बालविवाह, लैङ्गिक विभेद, मदिरा सेवन तथा घरेलु हिंसाजस्ता सामाजिक समस्यामा क्रमशः कमी आउन थालेको छ । महिलाहरू आयआर्जनका गतिविधिमा जोडिँदा उनीहरूको आत्मविश्वास र निर्णय क्षमतामा समेत वृद्धि भएको छ । तर, वर्षौँदेखि समाजमा जरा गाडेर बसेका कुरीति र परम्परागत सोच एकैपटक पूर्ण रूपमा हट्न सम्भव छैन । त्यसैले सकारात्मक व्यवहारलाई दीगो बनाउन समुदाय, स्थानीय सरकार र सरोकारवाला सबैको निरन्तर सहकार्य आवश्यक छ ।

बुङ्गल नगरपालिका–९ का वडाध्यक्ष हरिस सिंहले परियोजनाले स्थानीयको सोच र व्यवहार परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँका अनुसार मदिरा सेवनपछि हुने होहल्ला, घरायसी झैझगडा तथा अन्य सामाजिक विकृतिमा कमी आउन थालेको छ । सामाजिक कुरीति हटाउन चेतना अभिवृद्धिसँगै स्थानीयलाई आयआर्जनमा जोड्ने प्रयासले देउलीकोटमा व्यवहार परिवर्तनको आधार तयार गरेको देखिए पनि त्यसलाई दीगो बनाउन निरन्तर अभियान र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको स्थानीयको भनाइ छ ।

























