काठमाडौँ — रौतहटको चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हराउँदै राष्ट्रिय महिला लिग फुटबलमा मंगलबार तेस्रो जित निकालेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा सम्पन्न खेलमा चन्द्रपुरलाई जित दिलाउन रजनी थोकर र दिलकुमारी रानाले एकरएक गोल गरे । जारी लिगमा कमजोर मानिएको चौदण्डीकी मनिता तामाङले एक गोल फर्काइन् ।
प्रतिस्पर्धात्मक बनेको खेलमा रजनी थोकरले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । ६७औं मिनेटमा दिलकुमारी राना मगरले गोल गर्दै चन्द्रपुरको अग्रता दोब्बर बनाउँदा त्यसको अर्को मिनेटमा चौदण्डीगढीकी मनिता तामाङले गोल गर्दै अग्रता घटाउने प्रयास गरिन् । बाँकी समयमा खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन र चौदण्डीगढीले नतिजा सुम्पिन बाध्य बन्यो ।
जितसँगै चन्द्रपुरले ११ खेलमा ९ अंक जोडेको छ । लिगमा तेस्रो जित निकालेको चन्द्रपुर छैटौं स्थानमा रहेको छ । उता अंकको खाता खोल्न असफल चौदण्डीगढीको यो लगातार ११ औं हार हो । अब चौदण्डीगढीको लिगमा एक मात्र खेल बाँकी रहेको छ । चौदण्डीगढी अंकविहीन रहदै पुछारमा रहेको छ ।