बझाङ : बझाङमा दुई महिनाको अन्तरालमा ५५ जना स्क्रब टाइफसका बिरामी देखिएका छन् भने एक जनाको ज्यान समेत गएको छ । उनीहरुमध्ये एक जनाको मृत्युसमेत भइसकेको छ । स्क्रब टाइफसको संक्रमणको प्रकोप पछिल्ला वर्षहरुमा पहाडी जिल्लाहरुमा अत्याधिक मात्रामा देखिएको चिकित्सक बताउँछन् । जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काका अनुसार यो रोग “रिकेटसीया” भनिने एक सुक्ष्म ब्याक्टेरियाले गर्दा मानिसमा लाग्छ । संक्रमित भुसुना, किर्ना, मुसा, छुचुन्द्रो लगायतका जीवहरु यो ब्याक्टेरियाको भण्डार हुन ।
ति जीवबाट ससाना “माइट” भनिने किर्नाले मान्छेमा रोग सार्ने काम गर्छ । झार, चौर, घाँसपात, पुरानो काठहरुमा बस्ने यो किर्नाले सो व्याक्टेरिया मुसाहरुबाट मान्छेमा सारेपछि स्वस्थ मानिस यो रोगबाट संक्रमित हुने डाक्टर खड्का बताउँछन् । बझाङको हकमा हेर्दा कुकुर, बिरालो, बाख्रा लगायतबाट बढी सरेको देखिन्छ ।
पछिल्लो समय बझाङका सबै स्थानीय तहमा स्क्रब टाइफसका बिरामी देखिएका छन् । बिरामी ५५ जनामध्ये एक जनाको ज्यान समेत गइसकेको छ । ज्यान जानेमा दुर्गाथली गाउँपालिका १ की एक २२ वर्षिया युवती रहेकी छन् । अझै पनि ४ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने ५० जना निको भएर घर फर्किसकेका छन् । यो तथ्यांक साउन पहिलो हप्तादेखि भदाैं २५ गतेसम्म रहेको जिल्ला अस्पताल बझाङले जनाएको छ ।