बझाङ : पर्वते बोहराका लागि संसार अँध्यारो भएको सात वर्ष भयो। साइपाल गाउँपालिका–४ धुलीका उनले दिउँसोको उज्यालोमा आफ्नो अगाडिको आकृति धमिलो देखे पनि छुट्याउन सक्दैनन्। नदेख्ने भएयता घर भित्रबाहिर गर्दा नै लडेर धेरै पटक घाइते पनि भए। स्थानीय स्वास्थ्य चौकीमा जँचाउन जाँदा आँखा अस्पताल गएर उपचार गर्न सल्लाह पाए। तर उनलाई त्यहाँसम्म पुर्याइदिने कसले?
घरबाट सदरमुकाम चैनपुर पुग्न चार दिन पैदल हिँड्नुपर्छ। आँखाको शल्यक्रिया गर्ने अस्पताल कैलालीको गेटामा छ। चैनपुरबाट पनि त्यहाँ गाडीमा एक दिन नै लाग्छ। साइपालबाट एक जना बिरामीलाई सदरमुकाम चैनपुरसम्म बोकेर लैजान सहयोगी चाहिन्छ। बोक्ने मान्छेलाई बाटोमा आउँदाजाँदा खानबस्न खर्च मात्र एक लाख हाराहारी लाग्छ। पर्वतेको आर्थिक अवस्थाले यी खर्चको भार उठाउन सम्भव छैन।
अरू गाउँतिर आँखा उपचारको शिविर सञ्चालन हुने गरेको उनलाई जानकारी छ। शिविरमा उपचारपछि धेरै जनाको दृष्टि फर्किएको उनले सुनेका छन्। आफ्नै गाउँमा कुनै दिन शिविर आए पहिले जस्तै देख्न पाउने आशामा बसेका छन्। कोही नयाँ मान्छेसँग भेट हुँदा सोधीखोजी गर्ने स्वभावका उनको प्रायः सबैलाई नछुट्ने एउटा प्रश्न हुन्छ, ‘आँखा गाड्ने (आँखामा लागेको धमिलो झिल्ली हटाउने) डाक्टर कहिले आउन्याँ हुन्?’
सोही वडाको जगेरा गाउँकी मोतीमा रोकाया ५५ वर्ष लागिन्। उनको ज्यान तन्दुरुस्त छ, तर आँखामा ज्योति छैन। ५/६ वर्षदेखि उनको आँखा धमिलो हुँदै आएको थियो। दुई वर्षयता त्यो बाक्लिँदै गएपछि उनले पनि वरपरका वस्तु चिन्न छाडेकी छन्। आफैं हिँडडुल गर्न सक्ने, अरूले जस्तै काम गर्न सक्ने भए पनि आँखाले नदेख्ने भएपछि घरमै थन्किनुपर्दा र अरूको सहारामा बाँच्नुपर्दा साह्रै गाह्रो हुने गरेको उनले बताइन्। आँखा नदेख्ने भएपछि सक्ने काम गरे पनि घर बाहिरभित्र गर्नसमेत डर लाग्न थालेको बताउने उनलाई फेरि हेर्न सक्ने हुन मन छ। ‘पापीका आँखा फुटौ, धर्मीका कान फुटौ भन्दा छन् बा। पाप त केइ अर्याइन मान्दो छु। यसो केइ भयो? (पाप गर्नेको आँखा फुट्छ, धर्म गर्नेको कान फुट्छ भन्छन्, बाबु। पाप त केही गरेकी थिइनँ, यस्तो किन भयो)।’
साइपाल–३ का ८४ वर्षीय फुँगे धामी ठमठम हिँड्न सक्छन्। सानोतिनो काम पनि आफैं गर्न सक्छन्। तर उनी पनि चार वर्षदेखि अर्काको सहाराबिना चल्न नसक्ने भएका छन्। आँखा नदेख्ने उनलाई एक्लै भित्रबाहिर गर्न गाह्रो पर्छ। ‘चार वर्ष पहिलासम्म त अलिअलि देख्थें। विस्तारै धमिलो बढ्दै गयो,’ उनले भने, ‘चार वर्ष भयो। पटक्कै नदेख्ने भएको छु। बाहिरभित्र गर्दा पनि हात समाउने मान्छे चाहिन्छ।’ अरू सबै हिसाबले ज्यान सद्दे भए पनि आँखा नदेख्ने भएका कारण अरूको सहारामा हिँड्नु परेको उनले बताए। स्थानीय ६४ वर्षीया भुगी बोहराको पनि हालत उस्तै छ। ‘४/५ हात परको मान्छे चिन्न सक्दिनँ। आँखा नहुँदा नरकमा परे जस्तो लाग्छ,’ उनले भनिन्, ‘बाँकी दिन कसरी बिताउने होला।’ देख्न नपाए आयु घट्छ भन्ने उनलाई पीर लाग्छ।
आँखाको उपचार नपाएर समस्यामा परेका यी चार जना साइपालमा अन्धोपनको समस्याले पारेको असर देखाउने प्रतिनिधि पात्र मात्र हुन्। क्षेत्रफलका हिसाबले मुलुककै ठूलो स्थानीय तहका रूपमा रहेको साइपालका प्रत्येक गाउँका प्रायःजसो घरमा एक न एक जना यस्तै समस्या बोकेर बाँचिरहेका छन्। ‘अधिकांश बूढाबूढीमा मोतियाबिन्दुको समस्या छ,’ धुली स्वास्थ्य इकाइका इन्चार्ज नवीन बोहराले भने, ‘उपचार गरे ठीक हुने खालका सामान्य समस्याका कारण पनि यहाँका धेरै मानिसहरू आँखा नदेख्ने भएर बसिरहेका छन्।’
करिब ३ हजारको जनसंख्या रहेको यो गाउँपालिकामा पाँच सय जना जति वृद्धवृद्धा छन्। तीमध्ये ३ सयभन्दा बढीलाई विभिन्न खालको आँखासम्बन्धी समस्या भएको उनले बताए। दुर्गम र खर्च अभावकै कारण उनीहरूले अस्पताल जान नसकेर उपचार पाएका छैनन्। ५० कटेकाहरूलाई आँखाको समस्या हुनु स्वाभाविक हो। तर बिस्तारै आँखाको ज्याति गुमाएकाहरू कर्मको फल भन्दै बसेका छन्।
नदेख्ने भएपछि उनीहरूले भोग्नुपर्ने दु:ख त छँदै छ, परिवार र समाजले गर्ने तिरस्कारले पनि कष्टकर जीवन बाँचेका छन्। ‘एक पटक आँखा शिविर गर्न सके ८० प्रतिशतभन्दा बढी बिरामीको आँखाको ज्योति फर्किने सम्भावना छ,’ साइपाल गाउँपालिकाको स्वास्थ्य चौकीमा ३ वर्ष काम गरेका गेटा आँखा अस्पतालका पूर्वकर्मचारी जनककुमार विष्टले भने, ‘उपचार गरे निको हुन सक्नेहरूले पनि अन्धोपन पालेर तिरस्कृत जीवन बिताउनुपरेको छ।’ त्यहाँ आँखा शिविर सञ्चालनका लागि पहल गरे पनि दुर्गम भन्दै कसैबाट पनि सहयोग नपाएको उनले बताए।

साइपाल गाउँपालिकाले मात्र जिल्लाको झन्डै ४७ प्रतिशत भूभाग ओगटेको छ। सदरमुकाम चैनपुरबाट गाउँपालिका कार्यालयसम्मको पैदल दूरी ३० कोस छ। कार्यालयभन्दा पनि उत्तरतिर एक दिनको पैदल दूरीमा धुली, बलौडी र न्युना गाउँ छन्। आँखा शिविर ल्याउन पहल गरे पनि सफल नभएको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले गुनासो गरे। ‘गाउँपालिकाभरि कति जनालाई अन्धोपनको समस्या छ भन्ने यकिन तथ्यांक छैन तर ३ सय जनाजतिलाई हुनुपर्छ भन्ने अड्कल छ।’ कुनै अस्पतालले शिविर ल्याउन चाहेमा गाउँपालिकाका तर्फबाट लाग्ने खर्च व्यहोर्न तयार रहेको उनले बताए।
जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दीप ओखेडाले त्यहाँको अन्धोपनको समस्याबारे जानकार रहेको बताउँदै मोतियाविन्दुको शल्यक्रिया स्थानीयस्तरमा गराउनका लागि प्रयास गरिरहेको सुनाए। ‘दुर्गम भएका कारण भने अप्ठ्यारा छन्। कुरा मिलेको छैन,’ उनले भने। (कान्तिपुर दैनिकका लागि बझाङबाट बसन्तप्रताप सिंहले लेखेको समाचार सामाग्री ।)