बझाङ । आगामी वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ मा हुने निर्वाचनका लागि १२ सय संख्यामा प्रहरी परिचालन गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर सो संख्यामा सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । म्यादी प्रहरीको प्रयोग नहुने भएकाले दुई संगठनका प्रहरी निर्वाचनमा प्रयोग हुने कुइँकेलले बताउनुभयो।
निर्वाचन क्षेत्रभित्र रहेको मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको उहाँको भनाइ छ । आयोगले बझाङमा प्रदेशसभा निर्वाचनका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकेको छ ।
बझाङमा १२ जना चुनावी मैदानमा
वैशाख १५ गते हुने बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकाले त्यहाँ उपनिर्वाचन हुन लागेको हो । गत ५ असारमा प्रदेश सरकारका मन्त्रीसमेत रहनुभएका सिंहको सवारी दुर्घटनामा परेर निधन भएको थियो । सिंह नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । बझाङका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले अहिले हुन लागेको उपनिर्वाचनका लागि शनिबार निर्धारित गरिएको समयमा १२ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो ।
नेपाली कांग्रेसले बझाङका पूर्वजिल्ला सभापतिसमेत रहनुभएका स्वर्गीय सिंहका छोरा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । यस्तै, नेकपा एमालेबाट दमन भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ एमालेका जिल्ला अध्यक्ष पनि हुनुहुन्छ । यस्तै, नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ । बुढा माओवादीका प्रदेश कमिटी सचिव हुनुहुन्छ ।
यसैगरी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ तत्कालीन समयमा एमालेका पूर्वअध्यक्ष पनि हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरबहादुर खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ पूर्व-पत्रकार हुनुहुन्छ । मुख्य निर्वाचन अधिकृत लामिछिानेका अनुसार राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, नेमकिपाबाट खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपालबाट कमल घर्तीमगर, जसपा नेपालबाट रामबहादुर जाग्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनमत पार्टीबाट सुशीलादेवी विष्ट र नेपाली जनता दलबाट अशोक सुनारले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्धारित समयमा दलहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन् ।
शनिबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध आइतबार (आज) बिहान १० बजेदेखि ३ बजेसम्म उजुरी दिने, दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको छ । चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको छ भने वैशाख १५ गते मतदान गर्ने कार्यसूची रहेको छ ।