बझाङ । बझाङका १२ पालिका मध्ये स्थानीय तहको वित्तीय जोखिम मूल्यांकनमा बुंगल नगरपालिका उच्च जोखिममा रहेको छ । यसअघि स्थानिय तहको संस्थागत क्षमता स्वमूल्यांकन परीक्षणमा सबै भन्दा कमजोर पालिका देखिएको बुगल नगरपालिका स्थानीय तहको वित्तीय जोखिम मूल्यांकनमा पनि जिल्लाकै सबै भन्दा कमजोर पालिका भएको देखिएको छ ।
जिल्ला समन्वय समिति बझाङले प्रकाशन गरेको स्थानिय तह वित्तीय जोखिम मुल्याङकनको नतिजा अनुसार जिल्लाका १२ स्थानिय तहमध्ये मष्टा गाउँपालिकाले ६१ अंक सहित पहिलो स्थानमा रहेको छ । बुंगल नगरपालिका २८ अंक सहित अन्तिम स्थानमा रहेको छ । यस्तै ५१.५ अंक सहित थलारा गाउँपालिका दोस्रो र ४९.५ अंक सहित सुर्मा र केदारस्युँ गाउँपालिका तेस्रो स्थानमा रहेका छन ।
जोखिम लेखाजोखाको बर्गिकरण अनुसार ०-४० सम्म उच्च जोखिम, ४१-८० सम्म मध्यम जोखिम र ८० भन्दा माथी न्युन जोखिम गरि तीन चरणमा बर्गिकरण गरिएको छ । उक्त नतिजा अनुसार बझाङका ४ पालिका उच्च जोखिममा र ८ पालिका मध्यम जोखिममा रहेका छन । जिल्लाको खप्तडछान्ना,साईपाल,तल्कोट गाउँपालिका र बुंगल नगरपालिका वित्तीय जोखिमको उच्च जोखिममा रहेका छन ।
स्थानिय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरुको पहिचान गरी यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्ने प्रयोजनको लागी स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८० बमोजिम स्थानिय तह वित्तीय जोखिम मुल्याङकन कार्यविधि, २०७७ कार्यान्वयनमा रहेको छ । सोहि कार्यविधि अनुसार मुल्याङकन गर्दा बुंगल नगरपालिका जिल्लाकै कमजोर पालिका बनेको छ ।