बझाङ ; जिल्ला प्रशासन कार्यालय बझाङले कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ । प्रशासनले फागुन १७ गते बुधबार आजदेखि कार्यालय समय सुरु हुनुभन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको हो । प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व पोसाकमा सजिएर राष्ट्रिय गान गाएर मात्रै काम सुरु गर्ने गरी उक्त कार्यको थालनी गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । उनले भने,‘राष्ट्रिय गान गाएर कार्यालयको काम सुरु गर्दा समयमै कर्मचारी कार्यालयमा उपस्थिति हुने,राष्ट्रप्रतिको माया विश्वास र समपर्ण भावलाई झल्काउनुका साथै सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न सकिने विश्वास लिएका छौं ।’ उनले राष्ट्रिय गान पश्चात कार्यालयको सेवा प्रवाह तथा गतिविधिबारे कर्मचारीहरुलाई जानकारी गराउन पनि सहज हुने बताए ।
प्रमुख जिल्ला अधिकारी पाण्डेयले सम्पूर्ण कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिएको जानकारी दिए । कार्यसम्पादनमा जिल्ला प्रशासन कार्याल बझाङ अनुत्तीर्ण गृहमन्त्रालयको आन्तरिक कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय बझाङ भएका अनुत्तीर्ण भएको छ । अर्धन्यायिक अधिकारको समेत प्रयोग गरिरहेको जिल्ला प्रशासन कार्यालय बझाङ ६ महिने कार्यसम्पादनमा कमजोर देखिएका हो । १४.१० अंक पाएको बझाङमा गत माघसम्म बाबुराम अर्याल प्रमुख जिल्ला अधिकारी रहनुभएको थियो । उहाँको इलाका प्रशासन कार्यालय चन्द्रौटा (कपिलवस्तु) मा सरुवा भएपछि माघ ११ मा नारायणप्रसाद पाण्डेय प्रमुख जिल्ला अधिकारी भएर बझाङ आउनुभएको छ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी सँग हरेक साउनमा मातहत १ वर्षका कामबारे कार्यसम्पादन करार सम्झौता गर्छ ।
जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीकोे कार्यसम्पादनलाई ६ वटा समूहमा वर्गीकरण गरिएको छ । शान्तिसुरक्षा तथा अपराध अनुसन्धान तथा नियन्त्रणमा २९, शासकीय प्रबन्धमा ४४, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा १०, मुआब्जा वितरण तथा विकास सहजीकरणमा ७, लागूऔषध नियन्त्रण ५ र मन्त्रालयको मूल्यांकन ५ गरेर १ सय पूर्णाङ्कमा जिल्ला प्रशासनको कार्यसम्पादन मूल्यांकन हुने व्यवस्था छ । चालू आर्थिक वर्षमा दर्ता भएका र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दाको फच्र्याैट, नागरिकतासम्बन्धी उजुर फच्र्यौट, ठाडो उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र गृहबाट प्राप्त उजुरी फच्यौट, उपभोक्ता हितविपरीतका उजुरी तथा गुनासा, सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण, लागूऔषध सूचना व्यवस्थापन प्रणालीको नियमित प्रयोग, लेखा परीक्षण भएको कुल अंकमा बेरुजु फच्यौट, बक्यौता बेरुजु फच्यौट, प्रशासनिक कामकारबाही, महालेखा परीक्षकको प्रतिवेदन कार्यान्वयनलगायत विषयका आधारमा जिल्ला प्रशासनको मूल्यांकन हुन्छ । त्यसकै आधारमा हालै अर्धवार्षिक मूल्यांकन गरिएको जनाएको छ ।