बझाङ: बझाङमा भारत र अन्य जिल्लाबाट आएकालाई क्वारेन्टाइन र आइसोलेसनमा नराखि सिधै घर पठाउँदा कोरोनाको जोखिम बढेको छ । स्थानिय तहले कोरोनाको जोखिम नियन्त्रणमा चासो नदिँदा समुदायस्तरमा कोरोनाको त्रास फैलिएको छ । अहिले जिल्लामा १ सय ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने २ जनाको ज्यान समेत गएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या पनि दिनदिनै बढ्न थालेको छ । जिल्ला बाहिर बाट घरफर्कनेको लर्को लाग्न थालेको छ । यसरी जिल्ला भित्रनेहरु लाई क्वारेन्टाईनमा नराखि सिधै घर पठाउदा संक्रमण फैलिने त्रास भएको तलकोट गाँउपालिकाका गणेश धरालाले बताए । उनले भने सरकारले देशका विभिन्न शहरमा निशेधज्ञा जारी गरेसंगै रोजगारी र अध्ययनका लागी जिल्ला बाहिर गएकाहरु घरफर्कन थालेका छन । हुलका हुल मानिसहरु गाँउ पसेका छन । गाँउमा न त क्वारेन्टाइन छन । न त सुरक्षा सतर्कता अपनाईएको छ । जसका कारण बझाङका अधिकांस गाँउ संक्रमणको उच्च जोखिम छन । स्थानिय तहहरू कोरोनाको संक्रमण नियन्त्रणका लागी संवेदनशील नहुँदा संक्रमण भयावह हुन थालेको उनको भनाई छ ।
जिल्ला स्वास्थ्य कार्यालयले एक महिना अघि कोरोनाको जोखिम कम गर्न स्थानिय तहलाई स्वास्थ्य शाखा संयोजक प्रमुख रहने गरी टिम परिचालन गर्न पत्राचार गरेको थियो । जोखिम कम गर्न घटना अनुसन्धान र कन्ट्याक्ट ट्रेसिङ गर्ने गरी टिम परिचालन गर्न पत्राचार गरेको भए पनि स्थानिय तहले वेवास्ता गरेका छन । कोरोनाको संक्रमण नियन्त्रणका लागि सक्रिय भूमिका खेल्नुपर्ने स्थानिय तहहरु सक्रिय नहुँदा संक्रमण झन् बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भारतबाट फर्केकाहरूमा कडा खालको संक्रमण बढी देखिएको र हाल सम्म परीक्षण गरिएकामध्ये ४० प्रतिशतमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए । उनले भने भारत बाट फर्केका दुई जनाको त संक्रमणका कारण मृत्यु भईसकेको छ । अहिले गम्भीर अवस्थाका २५ जनालाई कोभिड वार्डमा राखेर उपचार गराई रहेका छौँ । यसरी संक्रमण दर बढदै जाने हो भने बेड पनि थप्नुपर्ने अवस्था आउछ । संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ नहुँदा संक्रमण झन् बढ्दै गएको हो । संक्रमितलाई आइसोलेसनमा राख्ने र जिल्ला भित्रनेलाई कडाइका साथ क्वारेन्टाइनमा राख्ने व्यवस्था नभए संक्रमणले भयावह रूप लिने को भनाई छ ।
स्थानिय तहमा क्वारेन्टाईन नभएको र जिल्ला बाहिर बाट घरफर्केका लाई होम क्वारेन्टाईनमा बस्न आग्रह गरिएको केदारस्युँ गाँउपालिका का अध्यक्ष ईन्द्र भण्डारीले बताए । उनले भने अहिले सम्म त हाम्रो गााउपालिकामा त्यति जोखिम छैन । गत बर्ष क्वारेन्टाईन व्यवस्थापन गर्न हम्मे हम्मे भयो । हामीले जिल्ला भित्रने सबैलाई दश दिन अनिवार्य होम क्वारेन्टाईनमा बस्न भनेका छौ । हामी संग कोभिड वार्ड पनि छ । लक्षण देखिएका र संकास्पद व्यक्तिलाई सोहि ठाँउमा चिकित्सकको निगरानीमा राखेका छौँ । संक्रमण बाट बच्न सरकारले लागु गरेका निति नियमको पालना गर्न विभिन्न संचारमाध्यम बाट सुचना सम्प्रेण गरि रहेका छौ । जिल्लामा कोरोनाको संक्रमण बढि रहेकाले आफुहरु चनाखो भएर सुरक्षाका उपाय अपनाउन थालेको उनको भनाई छ ।
सरकारी कार्यालयका सेवा बार अनुसार
जिल्लामा कोरोनाको संक्रमण बढेपछि सरकारी कार्यालयले १२ वटै स्थानीय तहलाई बार अनुसार सेवा दिन सुरु गरेको छ । कार्यालयमा भिडभाड हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालयले सबै स्थानीय तहलाई बार छुट्याएको हो । जिल्ला प्रसासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला अदालत, मालपोत तथा नापी लगायतका सरकारी कार्यालयले सेवाग्राहीको भिडभाड रोक्न स्थानीय तहलाई हप्तामा दुई÷दुई दिन छुट्याइएर सेवा सुरु गरेको हो । सुचना जारी गर्दै आफ्नो स्थानीय तहलाई छुट्याइएको बार अनुसार मात्रै कार्यालयमा उपस्थित भएर सेवा लिन आह्वान गरेका छन । निमित्त सीडीओ विष्णुप्रसाद सुवेदीलाई कोरोना संक्रमण भएपछि प्रशासन कार्यालयले नागरिकता जारी गर्ने काम बन्द गरिएको जिल्ला प्रसासन कार्यालयले जनाएको छ । बुधबार साँझ सुवेदी संक्रमित भएर आइसोलेसनमा बसेपछि बिहीबारदेखि नागरिकता जारी गर्ने काम बन्द भएको छ । यस्तै जयपृथ्वी नगरपालिकाका कर्मचारीमा संक्रमण देखिएपछि २० गते सम्मका लागी सबै सेवा बन्द गरेको छ । खप्तडछान्ना गाँउपालिकामा पनि कर्मचारीमा संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ ।
सदरमुकाम लगायतका मुख्य बजार बन्द
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बझाङ सदरमुकाम चैनपुर लगायतका मुख्य बजार क्षेत्र बन्द भएका छन । बजारमा भिडभाड हुन नदिन र पसल बन्द गराउन प्रहरी परिचालन गरिएको छ । बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले समुदायस्तरमा संक्रमण देखिन थालेको निष्कर्ष निकाल्दै आजबाट बजार बन्द गर्ने निर्णय गरेको थियो । जिल्लामा संक्रमणदर बढदै गएकाले अर्को सूचना जारी नभएसम्मका लागि बजार बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद सुवेधीले बताए । ’जथाभावी आवतजावतले जोखिम बढाएकाले सदरमुकाम चैनपुरमा आवतजावतमा पनि रोक लगाइएको छ । स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाबाहेकका खाद्यान्न, तरकारी र ग्यास पसल बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र खुला हुने उनको भनाइ छ । औषधोपचार तथा अन्य अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै बजार क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । ।