मकरराज धामी, बझाङ खप्तडछान्ना गाँउपालिका वडा नं १ पौवागडीकी बाग्मती कार्की ६० बर्षिकि भईन । वडा कार्यालय नजिकै टिनले बनेको सानो चियापसल छ । वडा कार्यालयमा आउने सेवाग्राहीलाई चियानास्ता खुवाउछिन बाग्मती आमा । विहान उठेर घर बाट एकभारी दाउरा ल्याएर पसलमा पुग्नु र पसलमा आउने ग्राहकलाई चियानास्ता खुवाउनु उनको दैनिकि बनेको छ । बुढयौलीले छोएको पातलो शरीर हेर्दा कमै बोल्छीन लाग्ने तर राजनितिक विषयमा कुरा हुँदा बढोचाख मानेर सुनिहाल्ने त्यस्तै आईपरे खरो पनि बोलिहाल्ने । चियानास्ता खुवाउदै गर्दा सेवाग्राहीसंग आउने चुनावमा मलाई भोट दिनुपर्छ है भन्न समेत पछि पर्दिनन् । नेपाली काँग्रेसमा आस्था राख्ने बाग्मती आमा गाँउकमिटि हुदै महिला संघको जिल्ला कमिटि सम्म पुगेकि छन । गाँउमा उनलाई नेत्यान्नी आमै भनेर बोलाउछन । यसो भनेर बोलाउर्दै गर्दा उनी भोट दिने बेला अरुलाई दिने अनि मलाई नेत्यान्नि भनेर हसाँउने गर्छिन ।
उमेरले बुढयौली छोए पनि बाग्मती आमाको चुनाव लडने धोको पुरा भएको छैन । २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेस बाट वडा सदस्यको टिकट पाईन । टिकट पाए संगै उनी प्रचारमा पनि गईन । तर उनी एमालेको उम्मेदवार संग ७ मतको झिनो अन्तरले पराजित भईन । पराजय भए पनि उनले हार मानेकी छैनन । उनी भन्छिन अब आउने स्थानिय तहको निर्वाचनमा पनि लडने ईच्छा छ । मेरो चुनाव लडने धोको अझै पुरा भएको छैन । हारेपनि जिते पनि एकचोटी उम्मेदवारी दिन्छु । अव त जित्ने गरेरै उठछु । यो बुढेसकालमा के चुनाव लडनु हुन्छ ? चुनाव लड्यो भने कुन पदमा लडनु हुन्छ ? भन्ने प्रश्नमा उनी भन्छिन देशमा प्रधामन्त्री, दलका शिर्ष नेताहरु म भन्दा बुढा छन । हाम्रै गाँउपालिकाकी अध्यक्ष पनि मेरै उमेर समानकी छिन । म के बुढी भए र । गाँउपालिका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष हुन अलि पढेलेखेकै हुनु पर्यो । मेरो त्यति पढाई छैन । तर कार्यपालिका सदस्य सम्म लड्छु । हिसावकिताव नजाने पनि गाँउगाँउका कार्यक्रममा गएर नैतिकताको पाठ त सिकाउला नी ।
सानै उमेरमा विहे गरेकी बाग्मती कार्कीलाई राजनितिमा लाग्न घरपरिवारले साथ दिएको छ । उनका एक छोरा र चार छोरी छन । दुई छोरी र छोराको विहे भई सकेको छ । छोरा जनक कार्की परिवार सहित रोजगारीका लागी भारतमा छन । घरमा श्रीमान, दुई नातीनी र छोरीहरु छन । माईली छोरी कृष्णा थापा पनि खप्तडछान्ना गाँउपालिका वडा नं ६ कि वडा सदस्य र कार्यपालिकाकी सदस्य हुन । थापा पनि नेपाली काँग्रेस बाटै विजयी भएकी हुन । धेरै नपढेको भए पनि सामान्य हिसाबकिताव गर्न आउछँ बाग्मती आमालाई । उनी भन्छिन पढेको भए म राम्रै नेता बन्थे होला । तर पनि कुनै पढेको मान्छे भन्दा कम छैन है सर । गाँउका सार्वजनिक काममा बाग्मती आमाको निकै चासो हुन्छ । विकासका विषयमा उनी वडा अध्यक्ष संग पनि छलफल गर्छिन । विकासको काम गर्दा उनी महिलाहरुको नेतृत्व गर्छिन ।
पछिल्लो समयमा नेताहरु भन्दा जनता बढी बदमास भएकोमा उनी चिन्तीत छिन । उनी भन्छीन कुनै योजना निमार्ण गर्दा जनश्रमदान गर्नुपर्छ भनिएको हुन्छ । योजनाको सम्झौता गर्दा पनि कति प्रतिशत श्रमदान गर्ने भनेर तोकिएको हुन्छ । थोरै एक दुईदिन श्रमदान गरौन भन्दा जनताले पनि पैसा नपाउने भएपछि किन काम गर्ने भनेर भन्छन । साना योजना निमार्णमा समान खरिद र ढुवानीमै पैसा सकिन्छ । काम गरौन भन्दा पैसा नपाउने भए किन काम गर्ने भन्दा दुख लाग्नेको उनी बताउछिन । पहिले पहिले हामी सबै मिलेर श्रमदान गरेरै बाटो, कुलो, सार्वजनिक भवन बनाउने गथ्र्यौ । समान खरिदका लागी चन्दा पनि उठाईन्थ्यो । तर अहिलेका मान्छे के भएका सरकारको पैसा त हो भनेर काममा पनि लापरवाहि गर्छन । उनी भन्छीन यसरी त कसरी विकास गर्न सकिएला । अहिलेका जनप्रतिनिधिले विकास गरेन भनेर गुनासो गर्नु पनि बेकार हो ।
उनले विगतका आफुले गरेका सामाजिक कामहरु सुनाईन । गाँउमा महिलाहरुलाई सामाजिक कामको पहुँचमा पुगाउन र माथी उकास्नका लागी सहकारीको स्थापना गरेको र सहकारी दर्ता गर्न डोटीको सिलगडी देखि स्थायी लेखा नम्बरका लागी धनगडी सम्म गएर विभिन्न ठाँउ बाट सहकारीमा पैसा हाल्न लगाएको सुनाईन । गाँउमा हुने विकास निमार्णमा महिलाहरुलाई संगै लगेर पुरुष संग संगै काममा सहभागि भयाँै । तत्कालीन पौवागडी गाविसमा महिलाहरुलाई सक्रिय बनाउन आफु महिला समुहको अध्यक्ष नै भएर समाजका विकृति विरुद्ध लडेको पनि बताईन । यी त उदाहरण मात्र हुन बाबु सामाजिक काम धेरै गरियो र पो मलाई सबैले नेत्यान्नी आमै भन्छन । यति भन्दै मैले झुटो बोलेको भए सबैलाई सोध्नु पनि भनिन । पार्टीको हरेक कार्यक्रममा उनी नियमीत जसो जान्छीन । परिवारका सबै सदस्यहरुले साथ दिँदा आफु यो स्थानमा पुगेको उनी बताउछिन । उनी भन्छिन एक पटक चुनाव लडने हो बाबु । पार्टीले टिकट दिए राम्रै भयो । नदिए पनि झगडा गरेर पनि टिकट ल्याउछु र जित्छु पनि । पहिले खासै थाहा भएन । प्रचार गर्न पनि जानिएन अब अलि अलि सिकेको छु ।
वडाध्यक्ष हिक्मत खत्री नेकपा एमाले बाट विजयी भएका हुन । खत्री पनि बाग्मती आमैको प्रसंसा गर्नु हुन्छ । उनले भने बाग्मती भाउजु साह्र सकिय मान्छे हुनुहन्छ । हामीलाई पनि जनतालाई प्रत्यक्ष लाभ हुने योजना बनाउनु पर्छ । बजेट कनिका छरे झै गर्नु हुदैन । एक दुई काम गरे पनि सबै देखिने गरी नमुना काम गर्नु पर्छ भनेर सम्झाउनु हुन्छ । हामी भन्दा धेरै बृद्ध हुनुहुन्छ तर सामाजिक काममा लागि रहनु हुन्छ । जनप्रतिनिधि भएपछि सबैलाईलाई समान व्यवहार देखाउनु पर्छ देवर भनेर भनिरहनु हुन्छ । कहिले काँही मैले जितेको भए नमुना काम गरेर देखाउथे । हारेर पो हो । तपाईहरु मैले भनेको मान्नु हुन्न भन्नु हुन्छ । साँच्चे उनको सक्रियता देख्दा बाग्मती भाउजुले गरि पो हाल्थेकी जस्तो लाग्छ ।