करोडौको लगानीमा संचालित बझाङका हातेकागज उद्योग बन्द अवस्थामा
मकरराज धामी, बझाङ: बझाङ जिल्लामा संचालित हातेकागज उद्योगहरु बन्द अवस्थामा छन । जिल्लाको जयपृथ्वी नगरपालिकाको कैलासमा रहेको मालिका हातेकागज उद्योग, बुङगल नगरपालिकाको गोईचनमा रहेको जुनेली हातेकागज उद्योग, खप्तडछान्ना गाँउपालिकाको कालुखेतीमा रहेको प्रगतिशिल खप्तड हातेकागज उद्योग र गडरायमा रहेको गोर्खाली हाते कागज उद्योग, मष्टा गाँउपालिकामा रहेको हिमालयन हाते कागज उद्योग, तल्कोट गााउपालिकाको दाँतोलामा रहेको बडीगाँउ हातेकागज उद्योग हाल बन्द अवस्थामा छन । उद्योग बन्द भएपछि भौतिक संरचना र उपकरणहरु पनि बेवारिसे बनेका छन कतिपय उपकरणहरु चोरी भएका छन । उद्योगको भवन वरिपरी घाँस पलाएको छ । कागज बनाउने काठका फ्रेमहरु कुहिएर काम नलाग्ने भै सकेका छन भने लाखौं मुल्य पर्ने विटर मेसिनहरुमा खिया लागेका छन । उद्योगमा उत्पादित कागजको लागत बढ्ने र बजारमा पाईने कागज भन्दा महंगो पर्न थाले पछि बजारमा प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका उद्योग संचालकहरुको भनाई छ ।
खप्तडछान्ना गाँउपालिकाको कालुखेतीमा रहेको प्रगतिशिल खप्तड हातेकागज उद्योग विगत ५ बर्ष देखि बन्द अवस्थामा छ । २०६६ सालमा संचालनमा आएको उद्योग बाट उत्पादित कागजले बजार नपाँउदा उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योगका संचालक गोविन्द सिंहको भनाई छ । उनले भने उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थको मुल्य बढदा लागत बढने र बजारमा बाहिर बाट आउने कागज भन्दा महंगो हुनथाले पछि विक्रि हुन छाड्यो । उद्योग संचालनमा रहेको बेला कागजका लागी कच्चा पदार्थ लोक्ता तथा कागज ढुवानी गर्ने, दाउरा विक्री गर्ने, मेसिन चलाउने गरी ३० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । उद्योग बन्द हुदाँ आयआर्जनको मुख्य बाटो बन्द भएको छ । हाल सम्म विभिन्न निकायहरुमा अनुदानका लागी पहल गरेको भए पनि कतैबाट अनुदान पाईएन । मेसिन मर्मत र केहि कच्चा पर्दाथ खरिदका लागी अनुदान पाए अझै संचालनमा ल्याउन सकिने उनको भनाई छ ।
बुङगल नगरपालिका १ मा रहेको जुनेली हाते कागज उद्योग विगत ७ बर्ष देखि बन्द अवस्थामा छ । उद्योगका संचालक अक्कल बोहराको भनाई पनि उस्तै छ । बजारमा प्रतिस्पर्धा गर्न नसक्दा उद्योगनै बन्द गर्नु परेको छ । हिमाली वन विनास हुन थाले पछि कच्चा पदार्थ पर्याप्त मात्रामा नपाईने र कच्चा पदार्थ संकलन तथा ढुवानी महंगो हुन थाले पछि कागजको लागत बढने गरेको र उचित बजार नपाउदा बन्द गर्नु परेको उनको भनाई छ । कुनै वेला स्थानियको रोजगारीको गतिलो माध्यम बन्दै आएको उद्योगको अहिले गौचरनमा परिणत भएको छ । उद्योग संचालन ल्याउन एन्साब नामक अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले पाँच लाख बरावरको उपकरण र प्रविधीमा अनुदान सहयोग गरेको थियो । त्यस यता यस उद्योगको संचालन, प्राविधिक क्षमता विकास, बजार व्यवस्थापन, पुर्वाधार निर्माण र नविनतम प्रविधीका उपकरण खरिद गर्नका लागि गरिविनिवारण कोषले पनि सहयोग गरेको थियो । यस्तै खप्तडछान्ना गाँउपालिकाको गडरायमा रहेको गोर्खाली हाते कागज उद्योग, मष्टा गाँउपालिकामा रहेको हिमालयन हाते कागज उद्योग, तल्कोट गाँउपालिकाको दाँतोलामा रहेको बडीगाँउ हातेकागज उद्योग पनि विगत ५ बर्ष देखि बन्द अवस्थामा छन ।
दिगो वन व्यवस्थापन सम्बन्धी प्रमाण दिने अन्र्तराष्ट्रिय संस्था फरेस्ट स्टेवार्ड सिप काउन्सील (एफएससी) वाट प्रमाणित एसिया कै पहिलो सामुदायिक उद्योग पनि बन्द भएको छ । जयपृथ्वीन गरपालिकाको कैलासमा रहेको मालिका हातेकागज उद्योग व्यवस्थापनको लापरवाहीका कारण तीन वर्ष देखी बन्द अवस्थामा रहेको छ । भवन जिर्ण भईसकेको छ भने हाते कागज बनाउदा पानी जम्मा गर्ने पोखरीहरु भत्किएका छन । यस्तै उद्योग रहेका लोक्ता पकाउने ड्रम, कागज बनाउदा प्रयोग गरिने काष्टिक सोडा, नुरी लगायतका रसायनहरु समेत चोरी भएका छन । २०५६ सालमा कैलासका स्थानिय र अन्र्तराष्ट्रिय गैर सरकारी संस्था एन्साबको पहलमा यो उद्योगको स्थापना भएको थियो । विनायक पिमिडाँडा सामुदायिकवनमा आवद्ध २ सय ५० उपभोक्ताको सेयर समेत रहेको उद्योग बन्द हुँदा झण्डै एक करोड बराबरको स्थानिय समुदाय र विभिन्नदातृ संस्थाहरुको लगानी खेर गएको छ ।
उद्योग संचालन भए देखि हाल सम्म एन्साबले विभिन्न शिर्षकमा ५० लाख, जडिबुटी व्यवस्थापनमा काम गर्ने अमेरिकी कम्पनी अवेदाले १० लाख, नेपाल कै जडिबुटीको कारोबारगर्ने कम्पनी हिमालयन बायोट्रेड लिमिटेडले पाँच लाख, बहुसरोकारबाला वन कार्यक्रमले १३ लाख र स्थानियको श्रमदान गरी १ करोड भन्दा बढी रकम उद्योगमा लगानी भैसकेको भएपनि व्यवस्थापनको लापरवाहीले उद्योग धरासायी भएको उद्योगमा स्थापनाकाल देखि काम गर्दै आएका गोविन्द कामीले बताए । उनले भने यो उद्योगले स्थानियलाई रोजगारी मात्रै दिएको थिएन । जिल्लाको प्रतिष्ठा पनि कमाएको थियो । आएको अनुदानमा आँखा गाड्ने, उत्पादनको हिसाब किताव स्पष्ट नगर्ने र समुदाय भन्दा पनि सिमित व्यक्तीले मनोमानी फाइदालिने प्रवृतीका कारण उद्योग धरासायि बनेको उनको भनाई छ ।
‘फरेस्ट स्टेवार्ड सिप काउन्सील (एफएससी)’ ले २०६४ सालमा यस उद्योगलाई एसिया कै पहिलो सामुदायिक उद्योगको रुपमा प्रमाणिकरण गरे पछि यो उद्योग चर्चामा आएको थियो । दिगो तरिकाले व्यवस्थापन गरेको वन पैदावार प्रयोग गरी संचालन गरिएको यस उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी तीन सय बढीले रोजगारी पाएका थिए । उद्योग बन्द भएपछि लगानीमात्रै खेर नगएर रोजगारी पनि खोसिएको स्थानियको भनाई छ । यहाँ उत्पादित नेपाली हाते कागज जापान, कोरीया, जर्मनी लगायत तेस्रो मुलकमा निर्यात हुने गरेको थियो । प्रत्येक बर्ष कागज विक्रीबाट भएको नाफा सेयर सदस्यलाई वितरण गर्ने भनिएको भए पनि एक पटक मात्रै वितरण गरीएको स्थानिय बताउछन । संचालन भएको दुइ वर्ष पछि सेयरको आधारमा १ हजार देखी १० हजार सम्म रकम वितरण भएको थियो ।
व्यवस्थापन पक्ष कै कमजोरीका कारण उद्योग धरासायी भएको उद्योगका प्रवन्ध संचालक समेत रहेका जयपृथ्वी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गगन बहादुर सिंहको भनाई छ । उनले भने म वडा अध्यक्षमा निर्वाचित भए देखि उद्योग तिर ध्यान दिन सकेको छैन । अरुलाई जिम्मा दिदाँ उनीहरुले इमान्दारीपुर्वक काम गरेनन । जसको परिणम फरेस्ट स्टेवार्ड सिप काउन्सील (एफएससी) वाट प्रमाणित एसिया कै पहिलो सामुदायिक उद्योग बन्द हुन पुग्यो । एसिया कै पहिलो सामुदायिक उद्योग पनि बन्द हुनु राम्रो पक्ष होईन । यो उद्योगलाई पुनः संचालनमा ल्याउनका लागि पहल भईरहेको छ । संचालन भएको दुइ वर्ष पछि सेयरको आधारमा १ हजार देखी १० हजार सम्म रकम वितरण भएको थियो । निकट भविश्यमै उद्योग संचालनमा आउने उनको भनाई छ ।