मकरराज धामी, बझाङः बुङगल नगरपालिका २ मलेराका अज्जो धामी एक महिना अघि देखिनै शिवरात्रीको तयारीमा लागे । सामुदायिक वन बाट पुर्जी काटेर दुई छोरा सहित निगालो ल्याई निगालोका सामान बनाउन सुरु गरे । मेलाकै लागी उनले बाबुछोरा मिलेर १० वटा साना तथा ठुला मन्द्रा, ५० वटा डोका, १० वटा सुप्पा र ५ वटा भकारी बनाए । शिवरात्रीको दिन विहान ४ बजे घर बाट निगालोका सामान बोकेर विजगडा पुगे र व्यापार सुरु गरे । अज्जो धामी मात्र होईन बुङनगरपालिका वडा नं १,२,६, र ८ का २ सय बढी स्थानिय निगालो बाट बनेका सामान बोकेर मेला भर्न विजगडा पुगे । जिल्लाको अन्य स्थानिय तहमा भन्दा बुङगल नगरपालिकामा निगालो बाट बनेका सामाग्री बढी उत्पादन हुने गरेको छ ।
निगालो बढी उत्पादन भएकै कारण यहाँका स्थानीयले बढी जसो निगालोबाट उत्पादन हुने सामग्री बनाएर बिक्री गर्ने गरेका छन । निगालोका सामग्री निर्माणमा मेहनत धेरै लाग्ने भए पनि मेहनत अनुसारको मुल्य नपाईने उनीहरुको भनाई छ । जङ्गलमा गएर निगालो काट्ने, घरमा ल्याएर चिर्ने, घाममा सुकाउने, पानीमा भिजाउने केही दिनपछि पानीबाट निकालेर चोया निकालेर सामग्री बुन्ने गरिन्छ । यसरी दुख गरेर बनाएका सामाग्रीको पनि उचित मुल्य नपाईने बुङगल नगरपालिका २ बगरका मन्धीरे धामीको भनाई छ । उनले भने कच्चा पदार्थ तयार भइसकेको अवस्थामा दिनमै १० भन्दा बढी सुप्पा छाप्रा बुन्न सकिन्छ । तर उचित मुल्य पाईदैन । अरु मेला राम्रै मुल्य पाईने भएपनि मेलामा प्रतिस्पर्धा गर्नु परेका कारण सस्तोमा बेच्नुपर्ने हुन्छ । हाम्रो आयआर्जनको माध्यम निगालोबाट बन्ने सामग्री नै हो । बर्षभरि गाँउ गाँउ ठुलाएर विक्रि गर्नुपर्ने हुन्छ । बाँकी रहेको सामान मेलामा ल्याएर बिक्री गर्ने गरेको उनको भनाई छ ।
मेलामा निगालोका सामानबाट राम्रै कमाई हुने गरेको बुङगल नगरपालिका ६ का कल्यान धामीले बताए । उनले भने मेलामा सामान बेच्न विहानै आए । अहिले सम्म डोका, मान्द्रो, सुप्पा गरेर १५ हजारको विक्रि गरिसके । मेलामा निकै प्रतिस्पर्धा हुने गरेको छ । मिलाएर दिँदा पनि ग्राहकहरु बार्गेनिङ गर्न सुरु गरिहाल्छन । अझै दश पन्ध्र हजारको सामान बाँकी छ होला । विक्रि भए ठिकै छ । नभए यतैको साहुजीहरुलाई सस्तैमा फालेर जानु पर्ला । शिवरात्रीमा मात्र एक जनाले कम्तीमा ४० हजार देखि एक लाख सम्म कमाउने गरेको उनको भनाई छ ।
अरु बेलाको भन्दा मेलामा सस्तो सामान पाउने भए पछि निगालोका सामान किन्नेको भिड हुने गरेको छ । मेलामा सानो मान्द्रो आठ सय देखि एक हजार, विस्कुन सुकाउने मान्द्रो दुई हजार देखि चार हजारमा बिक्री भइरहेको छ । यस्तै सुप्पा तथा छाप्राको रु पाँच सय देखि आठ सय सम्म कारोवार हुने गरेको छ । निगालोकै सामान किन्नका लागी मेलामा आएको केदारस्यु गाँउपालिका वडा १ की जयन्ती भण्डारीको भनाई छ । विहानै मेलामा पुगे छानीछानी राम्रो सामान पाईन्छ भनेर सबेरै आयौ । यसपालि त सबै जना चाँडै आएछन । विस्कुन सुकाउने मान्द्रो, डोका, छाप्रो किनेकी छु । एक बर्ष सम्मका लागी किन्नु पर्छ । अब अर्को बर्ष आईन्छ । पोहोर सालको भन्दा यो बर्ष सामान निकै महंगो रहेछ । आफुहरु हरेक बर्ष निगालो बाट बनेका सामाग्री किन्न विजगडाको शिवरात्री मेलामा आउने गरेको उनको भनाई छ ।
हरेक बर्षको महाशिवरात्रिमा बुङगल नगरपालिकाको विजगडामा मेला लाग्ने गर्दछ । शिवरात्रीको अवसरमा विजगडामा लाग्ने मेलामा निगालोबाट उत्पादित सामग्रीको व्यापार हुने गरेको छ । मेलामा विभिन्न साँस्कृतिक कार्यक्रम पनि हुने गरेको छ । तर यो मेलामा सास्कृतिक कार्यक्रम हेर्ने भन्दा पनि स्थानीयले उत्पादन गरेका निगालो र काठका सामग्री निबेच गर्नेहरु बढी आँउछन । निगालाोबाट बनेका सामान खरिद गर्नकै लागी, वित्थडचिर, केदारस्युँ, थलारा, दुर्गाथली गाँउपालिका र जयपृथ्वी नगरपालिका स्थानिय मेलामा आउने गर्दछन । मेलामा निगालोबाट बनेका डोका, नाङलो, कुरु (भकारी) सुप्पा, छाप्राको कारोवार सबैभन्दा बढी हुने गरेको छ ।