बझाङ: बझाङको थलारा गाउँपालिकामा हावाबाट २४ किलोवाट विद्युत् निकालिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको १ करोड २४ लाख रुपैयाँको लगानीमा हावाबाट विद्युत् निकालेका हो । गाउँपालिकाको वडा नम्बर ४ र नजिकैका अन्य गाउँलाई विद्युत् सेवा पुर्याउन ठिङडाँडामा तीनवटा वायुपंखा राखेर हावाबाट बिजुली निकालिएको हो ।
जिल्ला सदरमुकाम चैनपुर र केदारस्यु र वित्थडचिर गाउँपालिकामा मात्र केही समयअघि राष्ट्रिय प्रसारणको लाइन जोडिएको छ । लघु जलविद्युत्बाट बिजुली निकाल्न लागत र समय बढी लाग्ने र नजिकैका खोलामा लघुजलविद्युत्का लागि पानी पर्याप्त नहुँदा हावाबाट बिजुली निकाल्ने प्रयास गरिएको संविधानसभा सदस्य लालबहादुर रावलको भनाइ छ ।
‘स्थानीयले विद्युत्को माग गरे । सौर्यऊर्जाको सम्भावना भएन । गाउँको ठिङडाडामा तीव्र गतिको हावा चल्छ । तीव्र गतिमा चल्ने हावाबाट विद्युत् निकाल्न सकिन्छ भन्ने थाहा पाएपछि वैकल्पिक ऊर्जासँग परामर्श गरेर हावाबाट विद्युत् निकालिएको हो,’ उनले भने, ‘ठिङडाडामा निरन्तर हावा बहने हुँदा हावाबाट विद्युत् उत्पादनको राम्रो सम्भावना भएको हो ।’
अहिले विद्युत् उत्पादन भए पनि पोल र तार पर्याप्त नहुँदा सबै ठाउँमा विद्युत् लाइन विस्तारका गरिएको छैन । वायु ऊर्जामा प्रयोग हुने तार जलविद्युतको भन्दा फरक हुने र जनश्रमदान गर्नुपर्ने प्रावधान वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको हुँदा समस्या भएको स्थानीय दिनेश रावलले बताए । थप विद्युत् लाइन विस्तार र तार खरिदका लागि गाउँपालिकासँग माग गरिएको र सबै ठाउँमा लाइन विस्तार भएपछि करिब २ सय ५० घरधुरी लाभाम्वित हुने उनको भनाइ छ ।
विद्युत् नहुँदा उज्यालोबाट बञ्चित हुनुका साथै इलेक्ट्रनिक सामान प्रयोग गर्न नपाएका स्थानीय विद्युत् उत्पादनसँगै हर्षित भएका छन् । गाउँमा मोबाइल प्रयोगकर्ताको संख्या बढे पनि चार्ज गर्न समस्या थियो । जस्को घरमा सोलार छ त्यतै गएर मोबाइल चार्ज गर्नुपर्ने बाध्यता यहाँ थियो । हावाबाट बिजुली निकालेसँगै यो समस्या समाधान भएको अर्का स्थानीय महेश सायरले बताए । बिजुली हुँदा गाउँमा कम्प्युटर प्रयोगकर्ताका साथै टिभी चलाउनेको संख्या पनि बढदै गएको उनको भनाइ छ ।
ठिङकाडाँडामा ६० फिट अग्ला तीनवटा वायुपंखा छन् । हावाको गति मापन गर्नका लागि एमीमोमिटर जडान गरिनुका साथै, दिशा नाप्ने, तापक्रम नाप्ने यन्त्रसमेत जडान गरिएको छ । वैकल्पिक ऊर्जाको रूपमा रहेको वायु ऊर्जालाई हावा वहने गाउँगाउँमा जडान गर्न सकिन्छ । सात वर्षअघि भएको एक अध्ययनअनुसार देशमा ३ हजार मेगावाट वायु ऊर्जा निकाल्न सकिने सम्भावना छ । पहाडका अग्ला डाँडा र नदीका खोँचमा निरन्तर हावा चलिरहने हुँदा जिल्लाका अन्य ठाँउहरूमा पनि हावाबाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना छ ।