बझाङ : बझाङका सबै सानाठूला बजारहरु र बसपार्क तथा बस विसौनीमा सार्वजनिक सौचालय नहुँदा समस्या भएको छ । भएका सौचालय प्रयोगमा नआउनु र धेरैजसो ठाउँमा सौचालय नै नहुँदा सौच गर्न समस्या हुन थालेको हो ।
सदरमुकाम समेत रहेको चैनपुरमा हाल खुलामञ्चमा सौचालय भए पनि पानी अभावले गर्दा सञ्चालनमा नआएको जयपृथ्वी नगरपालिकाले जनाएको छ । तत्कालिन जिल्ला विकास समितिले निर्माण गरेको उक्त सार्वजनिक सौचालय बजारको पायक पर्ने ठाउँ नभएकोले पनि प्रयोग गर्नुको कुनै अर्थ नभएको मष्टा गाउँपालिका स्थानीय बिर्ख बोहराले बताए ।
बझाङका सहायक बजारहरु तमैल, भाडे, झनाना, झोता, देउरा, बाग्थला र देउलेख सार्वजनिक सौचालय नहुँदा खोला, नदी किनार र झाडीहरुमा सौच गर्ने क्रम बढेको छ । चैनपुरमा आएकाहरु सार्वजनिक सौचालय नहुँदा कतिपय नास्ता खाने निहुँमा होटेलमा छिरेर सौच गर्ने गर्दछन् भने कतिपय सेती नदी, बाहुली खोला किनार र चैनपुरका साघुँरा गल्ली नालीमा सौच गरिरहेका देखिन्छन् ।
सौचालय नभएकै कारण चैनपुरमा प्रदुषण बढ्नुका साथै सरकारले घोषणा गरेको खुल्ला दिशामुक्त जिल्ला भन्नुमा आँच पुगेको छ । नगरपालिका जस्तो ठाउँमा पनि एउटा सार्वजनिक सौचालय नहुनु निकै दुखद भएको पत्रकार जगदिश रोकायाले बताए । यस्तै खप्तडछान्नाकी इश्वरी खड्काले पुरुषभन्दा महिलालाई धेरै समस्या भएको बताए ।
उनले चैनपुरमा काम विशेषले आएका महिलाहरु सौच लागे पनि ठाउँ नहुँदा दबाउने गरेको बताए । यता जयपृथ्वी नगरपालिकाले भने अझैं पनि सौचालय बनाउने ठाउँ खोजिरहेको बताइरहेको छ । यसका लागि तत्काल बजेट पनि नभएको जयपृथ्वी नगरपालिका १० का वडाध्यक्ष दलबहादुर विष्टले बताए ।
यस्तै बजारीकरण हुँदै गएको केदारस्युँ ९ झाेतामा पनि सार्वजनिक साैचालय आवश्य रहेको स्थानीय रविना धामीले बताइन् । उनले भनिन् , ‘ झाेता बजार पनि ठूलो बजारका रुपमा स्थापित हुँदैछ । विस्तारै प्रदुषण बढिरहेको छ । अब यो बजार थलारा, केदारस्युँ र दुर्गाथलीका स्थानीयको व्यापारिक थलो बनिसकेको छ तर स्थानीय सरकार यसतर्फ ध्यान दिन सकिरहेका छैनन् । दिशापिसाब गर्न पनि अहिले सेती नदी किनार वा झाडीतिर हानिनुपर्ने अवस्था छ ।’
बझाङ , बैतडी र डोटीका स्थानीय व्यापार व्यवसाय अर्को ठूलो बजार हो देउरा बजार । यहाँ पनि बजार क्षेत्रभित्र एउटा पनि साैचालय छैन । साैचालय नहुँदा बजारमा फोहोर मैला बढिरहेको स्थानीय धनबहादुर भण्डारीले बताए । उनले पहिले पश्चिम सेती बन्छ भनेर बजारिकरण नभएको तर अहिले गाउँपालिकाको केन्द्र तोकिएपछि धमाधम बजारिकरण हुने, भाैतिक संरचना निर्माण हुने क्रम बढेकाले अनेकन समस्या देखा पर्न थालेका छन् । भण्डारीले भने,’धेरै आवाज उठाएर भर्खरै एक ठाउँ सानो डम्पिङ साइट बनेको छ । अझैं सार्वजनिक साैंचाःलयका लागि आवाज उठाउन जरुरी छ ।’
बझाङका प्रत्येक स्थानीय तहका केन्द्र बजारिकरण भइरहेका हुँदा मानव चहलपहल बाल्लिदो अवस्था रहेको छ । प्रदुषण तथा रोग व्याधिबाट बच्न अहिले साैचालय बनाउनुुपर्ने देखिन्छ । अझै पनि देउलेख,बाग्थला, बिजगडा, खप्तडछान्नाको पसलबगरमा सार्वजनि साैचालय नहुँदा समस्या हुने गरेको छ ।