बझाङमा हिउँदेयाम सुरु भए संगैे चोरी सिकार बढयो
बझाङ: बझाङमा हिँउदे सिजन सुरु भए संगै जंगली जनावर र पन्छीको चोरी सिकार गर्ने क्रम बढेको छ । मंसिर देखि माघ महिना सम्म यहाँका उच्च हिमालि भेगमा हिमपात सुरु हुने र हिँउ बाट जोगीन जंगलि पशुपन्छी न्यानो खोज्दै हिडेको मौकामा सिकारीहरुले सिकार गर्ने गरेका छन् । हिँउ परे पछि हिउँमा फसेका जनावर र चिसाले औलतिर झरेका पन्छीको सिकार गर्न सजिलो हुने भएकाले हिमाली क्षेत्रका बासिन्दाहरु सिकार खेल्न जाने गर्छन् । सिकारीहरूले बन्दुक, भाला, हँसिया, लाठी लगायत घरेलु हतियार प्रयोग गरी रतुवा, घोरल, झारल, थारल, बँदेल, डाँफे, कालिजको सिकार गर्ने गरेका छन् । हिउदको सिजनसुरु भएसँगै जिल्लाको बुङगल नगरपालिका, छविसपाथीभेरा, सुर्मा, खप्तडछान्ना, साईपाल, तल्कोट गाँउपालिकाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा चोरी सिकार भइरहेको स्थानीयहरु बताउँछन् ।
दुई चार वर्षअघि गाउँ नजिकै प्रशस्त पाइने डाँफे लगायतका पन्छी र जंगली जनावरहरू आज भोलि मुस्किलले देखिने गरेको बुङगल नगरपालिका वडा नं २ का वीर बहादुर धामीले बताए । केही वर्ष पहिला सम्म हिउँ पर्दा मृग र डाँफे लगायतका पशुपन्छी गाउँमै आउँथे तर अहिले लेकतिर मात्र फाट्ट फुट्ट भेटिन्छन तै पनि देख्न लाई मुस्कील पर्दछ । हरेक वर्ष हिउदको समय सुरु भए संगै चोरी सिकार हुने भएको भए पनि यस्को नियन्त्रणमा कसैको ध्यान जान नसकेको उनको भनाई । हिउँदयाम सुरु भसंगै ग्रामिण क्षेत्रहरुमा जंगलि जनावर तथा पन्छीको मासु खुलेयाम विक्रि हुने गरेको पाईन्छ ।
बेला बेलामा स्थानिय प्रसासन र डिभिजन वन कार्यालयको समन्वयमा चोरी सिकार नियन्त्रणका लागी विभिन्न अभ्यास भएको भए पनि नियन्त्रण भने हुन सकेको छैन । बर्षेनि चोरी सिकारीले डरलाग्दो रुप लिईरहेको भए पनि हिउँदको समयमा प्रसासन पनि मौन देखिन्छ । जंगली पशुपन्छीको मासु जिल्ला सदरमुकाम लगायत विभिन्न व्यापारिक केन्द्र रहेका स्थानिय बजारहरुमा खुलेयाम विक्रि भईरहेको छ । विशेष गरि डाँफे, कालिज, घोरल, रतुवा, थार लगायतका जंगली पशुपन्छीको मासु खुलेयाम विक्रि हुने गरेको छ । जंगली पन्छी डाँफे, मुनाल र कालिज ३ देखि ५ हजार रुपैयाँ र जंगली जनावरको मासु प्रतिकेजी १ हजार ५ सय देखि २ हजार रुपैयाँ सम्म बिक्री हुने गरेको छ ।
भौगोलिक विकटता,जनशक्ति अभाव र उच्च हिमालि क्षेत्र भएकाले चोरी सिकारले डरलाग्दो रूप लिएका कारण यसलाई नियन्त्रण गर्न कठिन भइरहेको डिभिजन वन कार्यालय बझाङका प्रमुख कर्ण खातीले बताए । चोरी सिकारी नियन्त्रणका लागी कुन ठाउँमा सिकार हुन्छ र कुन नाका भएर ओसारपसार हुन्छ भन्ने आफुहरुलाई थाहा नभएको र स्थानियहरुले पनि बताउन नचाहेका कारण नियन्त्रणमा समस्या हुने गरेको उनको भनाई छ ।