कोरोना कहरले विर्सिए बझाङको ऐतिहासिक महत्वको शिलदेवी जात्रा

Shivashankar

चैनपुर : विगतका वर्षहरुमा कोजाग्रत पूर्णिमाका दिनदेखि चैनपुरमा शिलदेवी मेला हेर्न आउनेहरु चहलपहल सुरु हुन्थ्यो ।मेलाकै अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले आफ्ना सन्देशसहितका ब्यानरले सदरमुकाम चैनपुरलाई दुलहीझैँ सजाइएको हुन्थ्यो । बजारमा लुगा कपडा, बालबालिकाका खेलाैना, सडक छेउमा मिठाइ पसल हुन्थेँ । जताततै पाल टाँगिएका पसलमा राखिएका अनेकन चिज वस्तु हेर्नेको भिड देखिन्थ्यो । चैनपुर सबै सडकमा युवकहरुले युवती पछ्याएका दृश्यहरु देखिन्थे ।स्थानीय एफएम रेडियो फलानो ठाउँमा यस्तो कार्यक्रम हुने भनेर सूचना बज्थे तर यस वर्ष भने धेरैलाई त शिलदेवी जात कहिले हो याद नै भएन ।

गाउँघरमा कामको चाप र कोरोनाको त्रासले गर्दा यस वर्ष सुर्मादेवी मेला मनाउन न त बझाङबासीलाई जाँगर चल्यो न त आयोजकलाई नै । सदरमुकाम चैनपुरमा भिडभाड बढी हाल्छ की भन्ने सोचमा खटिएको प्रहरी पनि यसपटक गुपचुप रह्यो । यस पटक चैनपुर बजारमा खासै चहपहल नै देखिएन । खेलकुद र साँस्कृतिक कार्यक्रम आयोजना भएनन् भने महिला पुरुषले देउडा खेल पनि खेलेनन् ।

आज प्रतिपदाका दिन सबै जना मेला सकेर घर फर्किने दिन हो । वर्षेनी बडादशैँपछि कोजाग्रत पूर्णिमाका दिनमा लाग्ने सुर्मादेवी मेलामा सुर्मा मन्दिरमा पूजाआजा गर्नुका साथै महिला पुरुषका डेउडा खेल, भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना गरी धुमधामका साथ तीन दिनसम्म मनाइने गरिन्छ । ‘यस पटक  कोरोनाको त्रासले बजार आउन मन लागेन,  घरकै काममा व्यस्त भइयो ।,’ जयपृथ्वी नगरपालिका ११ का देउडा खेलाडी जनक थापाले भने ।

यस्तै दुर्गाथली ४ बिजडाका शिक्षक चन्द्र रोकायाले पनि यस वर्ष काेरोनाका कारण शिलदेवी मेलाबारे आफू बेखर रहेको बताउँछन् । उनले भने,’मेलाबारे प्रचारप्रसार पनि सुनिनँ । प्रसासनले मेला मनाउने/नमनाउने केही पनि सूचना दिएन । गाउँघरमा गहुँ छर्ने समय छ । हामी त काममै व्यस्त थियाैं केही थाहा भएन । आज मेलाबाट फर्कने दिन रहेछ । अहिले थाहा पाएँ ।’

जयपृथ्वी नगरपालिका ४ का तोरण उपाध्यायले पनि हिजो पूर्णिमा रहेछ भन्दै मेलाबारे जानकारी नभएकाे आशय व्यक्त गरे । कोजाग्रत पूर्णिमाको दिन बाट सुरुहुने  यो मेला जिल्लाको प्रसिद्ध र प्रमुख मेलामा रुपमा मानिने हुदाँ विभिन्न कार्यक्रम गरि तीन/चार दिनसम्म मनाइन्छ।  मेलालाई  जिल्ला भरीका मान्छेको भेटघाट गर्नेथलोका रुपमा पनि चिनिन्छ। मेलालाई व्यवस्थित गर्न  पछिल्लो समय  महिला महिला, पुरुष-पुरुष र महिला पुरुषका डेउडा खेल, सांस्कृति कार्यक्रम, सडक नाटक, राजनीतिक पार्टीका भेटघाट कोणसभा कार्यक्रम पनि यसै समयमा गर्ने हुँदा यसलाइ मिनि महोत्सवका रुपमा पनि लिइने गरिन्छ।

जात्रामा  भलिबल र सांस्कृतिक कार्यक्रम हुने हुँदा चार दिनसम्म मनाइन्छ। छिमेकी जिल्ला बाजुरा, बैतडी, अछाम, डोटी, डडेलधुरासम्मका डेउडा खेलाडी र भक्तजन पनि  मेला हेर्न आउने गर्दछन्।

प्रशासनले सूचना नै जारी गरेन

जिल्ला प्रशासन  कार्यालयले चैनपुरमा यति ठूलो मेला लाग्ने थाहा हुँदाहुँदे पनि सूचनासम्म प्रकाशन/ प्रसारण गरेको थिएन । तर पनि कोरोनाका कारण मेला नलाग्दा प्रशासन पनि बचेको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी बझाङका लागि नयाँ हुन् । उनलाई जिल्लामा कहाँ कति मेला लाग्छन् भन्ने थाहा छैन । उनले भने,’हामीले चैनपुरमा लाग्ने सुर्मादेवी मेलाकै लागि भनेर सूचना त जारी गरेका छैनाैं तर मेला नमनाउनुस् भनेर बेला बेला सूचना जारी गरिएकै छन् नी ।’

मेलाको ऐतिहासिक महत्व

एघारौं शताब्तीतिर दुर्गादेवीकी १६ बहिनीमध्ये सुर्मादेवी सुर्मा सरोवर जाने क्रममा चैनपुर आएको र चैनपुरका जोख्या थापासित काँक्रो माग्दा नदिएपछि आफ्नो दिव्य शक्तिले सेती नदी र बाहुलीगाड खोलाको बहाब बढाई चैनपुर बगाइदिएको किम्बदन्ती छ ।

उक्त भनाइअनुसार कोजाग्रत पूर्णिमाको दिन भएको घटना चैनपुर उपत्यका बीच भागमा रहेको ढुंगामा बसेर सुर्मादेवीले हेरेकाले सोही ढुंगा (शिल) लाई यहाँका मानिसले मन्दिर बनाई पूजा गर्दै मेला गर्न थालेका हुन् । त्यही दिनको सम्झनामा प्रत्येक कोजाग्रत पूर्णिमाको दिन मेला लाग्ने गरेको बझाङी इतिहासका अध्येता विष्णुभक्त शास्त्री बताउँछन् ।

शास्त्रीका अनुसार पछि सोह्रौ शताब्दीतिर बझाङी राजा गजराज सिंहले यो मन्दिरलाई अझ भव्य बनाउन लगाएको र मेलालाई पनि थप व्यवस्थित तथा आकर्षक गराउन पहल गरेका थिए । मेलाको दिन आएर शिलदेवीको दर्शन गरे पुण्य प्राप्त हुने र इच्छित बर प्राप्त हुने भनाइले यसको महत्व अझ बढेको शास्त्री बताउँछन् ।

Hohel Kananga
Loading...